अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको आरोप: लोकतान्त्रिक बाटोबाट होइन, बल प्रयोग गरेर सरकारबाट हटाइयो

अध्यक्ष ओलीको आरोप: लोकतान्त्रिक बाटोबाट होइन, बल प्रयोग गरेर सरकारबाट हटाइयो


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको आरोप लगाएका छन्।

आज काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जेनजी आन्दोलनका क्रममा राज्यका संयन्त्रहरू निष्क्रिय र निष्प्रभावी बनाइएपछि आफूहरू सरकारबाट बाहिरिनुपरेको दाबी गरेका हुन्।

अध्यक्ष ओलीले आन्दोलनका क्रममा भएका हत्या, आगजनी तथा लुटपाटका घटनाको निष्पक्ष छानबिन हुन नसकेको टिप्पणी गरे। सरकारद्वारा गठित छानबिन आयोग र राष्ट्रिय मानव अधिकार आयोगले घटनाको वास्तविकता पत्ता लगाउनुभन्दा आफूलाई आरोपित गर्ने उद्देश्य राखेको उनको आरोप थियो।

आयोगहरूले गोली चलाउन आफूले आदेश दिएको प्रमाण नभेटेको उल्लेख गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री र गृहमन्त्री कसैले पनि गोली चलाउन आदेश नदिएको दाबी गरे। आफूहरूले राज्य, कानुन र संविधान नमान्ने प्रवृत्ति रोक्न मात्र खोजेको उनको भनाइ थियो।

‘अहिले हामीले धक्का खाएका छौँ, हामीले लोकतान्त्रिक बाटोबाट धक्का खाएका होइनौँ। बलजफ्ती, आगो लगाएर, लुटपात गरेर, राज्यका संयन्त्रहरू निष्क्रिय र निष्प्रभावी भएर हामी सरकारबाट हटाइएका हौँ। मान्छे मराएर उनीहरूले कब्जा गरे। मान्छे कसले मार्यो ? कसले गोली चलायो ? आयोग बने, स्थायी मानव अधिकार आयोग त छँदैछ। तर, वास्तवमा निष्पक्ष छानबिन भएन । सम्भवतः आयोगहरूलाई छानबिन गर्नु पनि थिएन, केपी ओलीलाई आरोपित गर्नु मात्र थियो। उहाँहरूले गोली चलाउन आदेश दिएको छ भन्दा छैन भन्ने आयोगहरूकै निष्कर्ष छ । गोली चलाउने आदेश प्रधानमन्त्रीले पनि दिएको छैन, गृहमन्त्रीले पनि दिएको छैन। हामीले त केवल राज्य नमान्ने, कानुन नमान्ने र संविधान नमान्ने बेथिति रोक्न खोजेका मात्र हौँ।’

विदेशी सामाजिक सञ्जाल कम्पनीलाई नियमन गर्न खोजेको विषयमा तत्कालीन सञ्चारमन्त्रीमाथि कारबाही गर्नुपर्ने राष्ट्रिय मानव अधिकार आयोगको निष्कर्षप्रति पनि उनले आपत्ति जनाए। सामाजिक सञ्जाल नियमनको प्रयासलाई लिएर तत्कालीन सरकारमाथि प्रश्न उठाइएको भन्दै उनले आयोगको निष्कर्षप्रति असन्तुष्टि व्यक्त गरे।

त्यस्तै, विघटित प्रतिनिधिसभासम्बन्धी मुद्दाको फैसला गर्न ढिलाइ भएको भन्दै ओलीले सर्वोच्च अदालतको समेत आलोचना गरे ।

अध्यक्ष ओलीले पछिल्लो राजनीतिक परिस्थितिमा एमालेले धक्का व्यहोर्नुपरे पनि पार्टीलाई कमजोर हुन नदिने बताए। नेकपा (एमाले) लाई पुनः देशको निर्णायक राजनीतिक शक्तिका रूपमा विकास गर्ने लक्ष्यसहित आफूहरू दृढताका साथ अघि बढिरहेको उनको भनाइ थियो।