अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

व्यावहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछ: अर्थमन्त्री पौडेल

व्यावहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछ: अर्थमन्त्री पौडेल


काठमाडौँ-उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताउनुभएको छ। राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा उठेको प्रश्नको बुधबार जवाफ दिँदै उहाँले बजेट कार्यान्वयनमा देखिएको बाधा हटाएर सरकार अघि बढ्ने स्पष्ट पार्नुभयो।

‘व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण  र कार्यान्वयनको सुनिश्चितता गरिनेछ, बजेट कार्यान्वयनबाट मुलुक र आम नागरिकले प्रतिफल प्राप्त गर्छन्’, उहाँले भन्नुभयो। उहाँले छलफलबाट प्राप्त सुझावलाई बजेट निर्माण गर्दा ख्याल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अर्थमन्त्री पौडेलले विकासको ढाँचा, गति र संस्कृतिक परिवर्तन गर्नुपर्ने कुरालाई सिद्धान्त र प्राथमिकताले जोड दिएको बताउनुभयो। ‘अहिलेको विकासको ढाँचा, गति र संस्कृतिले कही पुर्‍याउँदैन, अब त्यसमा परिवर्तन आवश्यक भएको अनुभूतिका आधारमा सिद्धान्त र प्राथमिकता प्रस्तुत भएको छ’, उहाँले भन्नुभयो।

नीति तथा कार्यक्रमसँग सिद्धान्त र प्राथमिकताको मेल खाएको र नीति कार्यक्रमलाई अनुसरण गर्दै सिद्धान्त र प्राथमिकता आएको उहाँको भनाइ छ। उपप्रधानमन्त्री पौडेलले सिद्धान्त र प्राथमिकताले सन्तुलित र समन्यायिक विकासलाई जोड दिएको, रोजगारी, स्वरोजगारी र गरिबी निवारणलाई महत्व दिएको बताउनुभयो।