काठमाडौँ-सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरी नायव निरीक्षक (सई)लाई प्रहरी प्रधान कार्यालयमा झिकाइएको छ।
ट्राफिक प्रहरी कार्यालय, नेपालगञ्जमा कार्यरत सई कमल खड्कालाई जिम्मेवारीबाट हटाएर छानबिनका लागि हेडक्वार्टर तानिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिनुभयाे।
ड्युटीमा खटिएका सई खड्काले पनि कारागारमा रहेका अभियुक्तको पक्षमा सडकमै हस्ताक्षर गरेको फोटो सार्वजनिक भएको थियो। हस्ताक्षर गरेको भनेर सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि त्यसबारे यकिन गर्न बोलाइएको डीआईजी घिमिरेले जानकारी दिनुभयाे ।
रुपन्देहीस्थित बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा लागिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
जिल्ला अदालत रुपन्देहीबाट एक करोड धरौटीमा छुटेका लामिछाने उच्चको आदेशपछि कारागारमा छन्। सर्वोच्च अदालतले पनि उनलाई थुनामा पठाउने उच्च अदालतको आदेश सदर गरिसकेको छ।
प्रतिक्रिया