अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पत्रकारितालाई मर्यादित बनाउन सबैभन्दा पहिला पत्रकार नै सच्चिनु पर्छ: गणेश बस्नेत

पत्रकारितालाई मर्यादित बनाउन सबैभन्दा पहिला पत्रकार नै सच्चिनु पर्छ: गणेश बस्नेत


काठमाडौं-प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष वरिष्ठ पत्रकार गणेश बस्नेले नेपाली पत्रकारिता क्षेत्र माथि उठेको प्रश्नको जवाफ पत्रकारहरूले कामबाटै दिनु पर्ने बताउनुभएको छ।

पत्रकार बस्नेतले बिहीबार एक रेडियो कार्यक्रमलाई अन्तर्वार्ता दिँदै बस्नेतले नेपाली सञ्चार क्षेत्र माथि ८० प्रतिशत प्रश्न सुनियोजित रूपमा बदनाम गराउनेहरूले उठाएका र २० प्रतिशत भने पत्रकार र मिडिया हाउस सच्चिनु पर्ने प्रश्न उठेका बताउनुभयो ।

नेपालको पत्रकारिता प्रविधि, अध्ययन, चिन्तन र गुणस्तरीयताको हिसाबले धेरै अघि बढिसकेको बस्नेतले बताउनुभयो। २०५० साल अघिसम्म नेपालका कुनै पनि पत्रकार कम्प्युटरमा टाइप गर्न समेत नसक्ने अवस्थामा रहेका उहाँले बताउनुभयो। ‘प्रविधिको विकासको कुरा गर्ने हो भने हामी शून्यबाट ५० मा पुगेका छौँ’, उहाँले भन्नुभयो।

मिसन पत्रकारिताको नाममा अहिले व्यक्तिको चरित्र हत्या गर्ने कुरा निक्कै बढेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो। ‘नैतिकताको हिसाबले नेपाली पत्रकारिता खस्किएको छ, पत्रकारिताको नाममा व्यक्तिको चरित्र हत्या गर्ने क्रम बढेको छ’, उहाँले भन्नुभयो।

उहाँले मिसन पत्रकारिता भनेको कसैको चरित्र हत्या गर्ने पत्रकारिता नभएको उहाँले बताउनुभयो । मिसन पत्रकारिता भनेको आफ्ना राम्रा कुरा दुनियाँ समक्ष लैजाने भएको उहाँले स्पष्ट पार्नुभयो । मिसन पत्रकारिताको लक्ष कमजोरलाई साथ दिनु भएको उहाँले बताउनुभयो । कमजोरलाई साथ दिने मिसन नै पत्रकारिताको मिसन हो ।

अहिले व्यावसायिक भन्नेहरूले सुनियोजित रूपमा निश्चित व्यक्तिका विरुद्ध अफवाह फैलाउने काम गरिरहेका पत्रकार बस्नेतले बताउनुभयो। पार्टीका मुखपत्रले भन्दा व्यावसायिक भनिनेहरूले अफवाह फैलाउने गरेका उहाँको भनाइ छ।

सत्य कहिल्यै पनि नमर्ने बताउँदै कुनै न कुनै दिन सत्य स्थापित हुने उहाँको धारणा छ। केही समय सत्यलाई लुकाउन सकिने भए पनि त्यो धेरै नटिक्ने उहाँको धारणा छ। त्यसैले पत्रकारिताले सत्यको साथ छाड्न नहुने र तथ्यको आधारमा सत्य स्थापित गर्नुपर्ने बस्नेतले बताउनुभयो।

नेपालको परिवर्तनका आन्दोलनमा मिडियाहरूको उल्लेख्य योगदान रहेको उहाँले बताउनुभयो । तर सरकारमा पुगेपछि नेताहरूको मिडिया क्षेत्रमा लगानी गर्ने कुरा प्राथमिकतामा नपरेको उहाँको धारणा छ। पत्रकारितालाई मर्यादित बनाउन राज्यको लगानीको प्राथमिकता पर्नुपर्ने उहाँले बताउनुभयो ।

सरकारको लगानी नहुँदा नेपाली पत्रकारिताले अभाव, दबाब, प्रभाव र तनाव खेपिरहनु परेको उहाँले बताउनुभयो । यिनै कुराले गर्दा नेपाली पत्रकारिता सही हिसाबले अघि बढ्न नसकेको उहाँको धारणा छ।

पत्रकार बस्नेतले नेपालको पत्रकारितालाई मर्यादित बनाउन सबैभन्दा पहिला पत्रकार नै सच्चिनु पर्ने बताउनुभयो । त्यसमा राज्यले सहयोग गर्नुपर्ने उहाँको धारणा छ । ‘हामी मैदानमा छौँ, त्रुटि हामीले नै गरिरहेका छौँ, हामीले गरेको सानो त्रुटिलाई पनि अरूले ठुलो बनाइदियो, त्यसैले हाम्रो त्रुटि हामीले नै सुधार्नु पर्छ, म बाहेक सबै सच्चिनु पर्छ, म चाहिँ सच्चिनु पर्दैन भन्ने मानसिकताबाट सबै सच्चिनु पर्छ, अहिले व्यक्ति व्यक्तिमा रूपान्तरण हुन जरुरी छ’, उहाँले भन्नुभयो ।