अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले पालिकामा खटाएपछि दुई उपसचिवले दिए राजीनामा

सरकारले पालिकामा खटाएपछि दुई उपसचिवले दिए राजीनामा


सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र बाजुराका स्थानीय तहमा खटाइएका दुई उपसचिवले राजीनामा दिएका छन्। स्थानीय तहमा खटाइएका उपसचिव नवराज ओझा र भोजबहादुर ऐडीले राजीनामा दिएका हुन्।

ओझालाई डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेर पठाएको थियो। उनले स्वास्थ्य अवस्था र व्यक्तिगत समस्याका कारण सुदूरपश्चिमका प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याललाई राजीनामा बुझाएका छन्।

ओझा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए । उनी मुख्यमन्त्री कार्यालयमा प्रवक्ताको जिम्मेवारी पनि सम्हालिरहेका थिए । सेवा अवधि एक वर्ष मात्रै रहेको तथा स्थानीय तहमा काम गरेको अनुभव नभएकाले ओझाले राजीनामा दिएको बताइएको छ। ओझाको घर कैलालीको गोदावरी नगरपालिका–६ लालपुर हो ।

यस्तै, बाजुराको बुढीगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका उपसचिव ऐडीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर राजीनामा बुझाएका छन्।

उनलाई मन्त्रालयले २०८२ पुसमा नै बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो । तर दुई महिनापछि नगरपालिकामा हाजिर भएका ऐडी एक साता बसेर फर्किएका थिए।

१६ चैतमा मन्त्रालयले पुनः सोही नगरपालिकामा खटाएपछि ५६ वर्षीय ऐडीले राजीनामा दिएका हुन् ।