अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ऐलानी जग्गामा रास्वपा सांसद केपी खनालको घर, अब डोजर चल्छ कि चल्दैन ?

ऐलानी जग्गामा रास्वपा सांसद केपी खनालको घर, अब डोजर चल्छ कि चल्दैन ?


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालको पक्की घर भएको जग्गाको लालपूर्जा नभएको र नक्सापास बिनै निमार्ण भएको सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्।

कैलाली–२ बाट निर्वाचित खनालको लम्कीचुहा नगरपालिका–१ बसपार्क नजिकै रहेको घर ऐलानी जग्गामा बनेको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ। सरकारले देशभर सार्वजनिक तथा अतिक्रमित जग्गामा बनेका संरचना डोजर लगाएर हटाइरहेका बेला यो विषयले थप चर्को बहस सिर्जना गरेको छ।

सामाजिक सञ्जालमा विवादमा तानिएपछि उनको घरमा अब डोजर चल्छ कि चल्दैन भन्ने चर्चा सुरु भएकाे छ।

सरकारले पछिल्लो समय सार्वजनिक तथा सरकारी जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्रता दिइरहेका बेला सांसद खनालकै घरमाथि प्रश्न उठेपछि विषय थप पेचिलो बनेको छ।

प्रधानमन्त्री बालेन साह नेतृत्वमा सुकुम्बासी बस्ती हटाउने अभियान चलिरहेको बेला उनी निकट सांसद खनालको घरमाथि अब के हुन्छ प्रश्न उठेको हो।

यसबीच, खनालको सचिवालयले भने आरोपलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गरेको छ । खनालका स्वकीय सचिव हर्क पुनका अनुसार खनालका अभिभावकले भारतमा श्रम गरेर उक्त घर निर्माण गरेका हुन् ।

उनले घर ऐलानी जग्गामै बनेको स्वीकार गरेका छन् । ‘उहाँको घर ऐलानीमा भएको कुरा सत्य हो, तर अतिक्रमण गरेर बनाइएको होइन । त्यो घर पनि उहाँका बुबाआमाले आफ्नै लगानीमा बनाउनु भएको हो’ उनले भनेका छन् ।

यता, सामाजिक सञ्जालमा भने अन्य सुकुम्बासीका घर भत्काउने तर आफ्नै सांसदको घर जोगाउने प्रयास भए स्वीकार्य नहुने भन्दै खनालको घरमाथि पनि समान कारबाही हुनुपर्ने माग उठिरहेको छ ।