काठमाडौँ-विश्व प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइँदैछ । दिवसको अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा ऐक्यवद्धता र्याली निकालेको छ।
महासंघले ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’भन्ने नारासहितको ऐक्यवद्धता र्यालीको आयोजना गरेको हो।
र्यालीमा सहभागीहरुले ‘रास्वपाको सत्ता, प्रेस स्वतन्त्रता बेपत्ता ?’, ‘प्रेस स्वतन्त्रताको रक्षा गर’, ‘प्रेस स्वतन्त्रता नागरिक अधिकारको मेरुदण्ड हो’, ‘पूर्ण प्रेस स्वतन्त्रता संविधानको बाचा, सरकारी सूचना साझा’, ‘प्रेस स्वतन्त्रता सम्झौता होइन, अधिकार हो’ लगाएत लेखिएका पम्पलेट बोकेका थिए ।

सो अवसरमा नेपालका विभिन्न सञ्चार माध्यम तथा सम्बद्ध संघ संस्थामा कार्यरत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।
आज संसारभर प्रेस स्वतन्त्रताको महत्त्वका बारेमा चर्चा गरिँदै छ । नेपालमा पनि यस दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।









प्रतिक्रिया