काठमाडौं–श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क राई (साम्पाङ)ले लिपुलेक क्षेत्र नेपालको भूभाग भएको दाबी गरेका छन्।
अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सन् १८१६ मा भएको सुगौली सन्धिले निर्धारण गरेको सीमाअनुसार लिपुलेक नेपालकै भूभाग पर्ने उल्लेख गरेका छन्। ‘लिपुलेक हाम्रो हो,’ भन्दै अध्यक्ष साम्पाङले ऐतिहासिक सन्धि र सिमाङ्कनका आधारमा नेपालको दाबी स्पष्ट रहेको बताएका छन्। उक्त सन्धिले तोकेको सीमाअनुसार नेपालको भूगोल प्रष्ट रूपमा परिभाषित भएकाले त्यसमा कुनै अन्योल हुन नहुने अध्यक्ष साम्पाङको धारणा छ।
नेपालको सहमतिविना भारले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र कब्जा गर्दै लिपुलेक-मानसरोवर सडक सञ्चालनमा ल्याएपछि अध्यक्ष साम्पाङले यो प्रतिक्रिया जनाएको हो। उनले सकार के हेरेर बसिरहेको छ भन्दै प्रश्न समेत गरेका छन् ।
नेपालले उक्त क्षेत्र आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ। केपी ओली प्रधानमन्त्री भएको बेला सो क्षेत्र समेटेको राजनीतिक नक्सा संसदको सर्वसहमतिले पारित गरिसकेको छ। तर भारतले लिपुलेकबाट चीनको मानसरोवर पुग्ने सडक सञ्चालन गरेपछि सरकारले हिजो प्रेस नोट जारी गरेर सो भूभाग आफ्नो भएको दाबी गरेको थियो । तर भारतले तत्काल प्रतिक्रिया जनाउँदै नेपालको दाबीमा कुनै तथ्य र प्रमाण नभएको जनाएको छ।








प्रतिक्रिया