काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए)को अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित भएका छन्। संघका अधिकासं पदमा डा. रिजालकै प्यानलका उम्मेदवार निर्वाचित भएका छन्।
मंगलबार सम्पन्न मतगणनामा डा. रिजाल तीन हजार १९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी डा. मंगल रावलले दुई हजार ९४० मत प्राप्त गरे। अध्यक्षका अर्का उम्मेदवार डा. नारायाणप्रसाद भुसालले ८६९ मत प्राप्त गरे।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी निर्वाचित भएका छन्। उनले तीन हजार ३६ मत पाए। त्यस्तै, वरिष्ठ उपाध्यक्षका उम्मेदावर डा. कीतिपाल सुवेदीले दुई हजार ३०२ र डा. अजयकुमार मिश्रले एक हजार ४२१ मत पाए।
महासचिवमा डा. विश्वराज दवाडी निर्वाचित भएका छन्। उनले दुई हजार ७२२ मत पाए। उनका प्रतिस्पर्धी डा. कालुसिंह खत्रीले दुई हजार ४२३ र डा. अमृत भुसालले एक हजार ६४६ मत पाए।
कोषाध्यक्षमा डा. संयुक्त आचार्य निर्वाचित भएका छन्। उनले तीन हजार १८६ मत पाए। उनका प्रतिस्पर्धी डा. चाँदनी जैसवालले दुई हजार ९९ र डा. विनोदकुमार महासेठले ९७४ मत पाए।
१९ सदस्यीय कार्यसमितिमा अधिकांश पदमा डा. रिजालकै उम्मेदवार निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा डा. रिजालकै प्यानलका उम्मेदवार निर्वाचित भएका हुन्।
त्यस्तै, सदस्यमा डा. रिजालका प्यानका डा. राकेश साह, डा. सुस्मित काफ्ले र डा. बिना श्रेष्ठ निर्वाचित भएका छन्। डा. रावलका प्यानबाट डा. अमित झा र डा. पल्पसा श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन्। टिम रिफर्मबाट डा. शेषराज घिमिरेले सदस्य निर्वाचित भएका छन्।
डा. रिजालको टोलीले सातमध्ये पाँच प्रदेशका उपाध्यक्ष तथा प्रदेश संयोजक पदमा पनि जित हासिल गरेको छ। कोसी प्रदेशमा डा. रोशन खड्का, मधेस प्रदेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा. सुवास भट्टराई, लुम्बिनी प्रदेशमा डा. नन्दाकुमारी गुरुङ र सुदूरपश्चिममा डा. प्रमोद जोशीले जित हासिल गरेका छन्।
यसैगरी, गण्डकीमा डा. यज्ञराज सिग्देल र कर्णालीमा डा. रबिन खड्काले जित निकालेका छन्। उनीहरू दुवै जना डा. रावलका प्यानलका उम्मेदवार हुन्।







प्रतिक्रिया