काठमाडौं-श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ)ले देशैभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको पक्षमा उभिन पार्टीका नेता-कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।
संघीय सरकारले सार्वजनिक जग्गा अतिक्रमण हटाउन भन्दै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई परिपत्र गरेपछि वर्षौँदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका सर्वसाधारण सरकारविरुद्ध सडकमा आएपछि साम्पाङले उनीहरुको पक्षमा उभिन आह्वान गरेका हुन्।
बुधबार सामाजिक सञ्जालमा लेख्दै साम्पाङले उनीहरुलाई एक ढिक्का बनाई संरक्षण गर्न पार्टीका नेता-कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
‘श्रम संस्कृतिका समस्त श्रमदाता ज्यूहरुलाई आह्वान ! देशैभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको पक्षमा उभिनुहोला ! वहाँहरुलाई एक ढिक्का बनाई संरक्षण गर्नु होला ! नेतृत्व गर्नु होला ! कसैको बास नउठोस् ! जय माटो ! जय देश’ अध्यक्ष साम्पाङले फेसबुकमा लेखेका छन् ।
अध्यक्ष साम्पाङले जनतालाई आन्दोलित बनाइराख्ने व्यक्ति अभिभावक बन्न नसक्ने भन्दै प्रधानमन्त्री बालेन साहको राजीनामा समेत यसअघि नै मागिसकेका छन् ।








प्रतिक्रिया