अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै


काठमाडौं-संघीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी गरेको छ । त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने भएको भन्दै सचिवालयले सबै सांसदलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन आग्रह गरेको हो ।

सचिवालयले बिहीबार सूचना जारी गर्दै संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक तस्वीर समेत खिचिने जनाएको छ । तस्वीर खिच्ने कार्यक्रम समेत भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन अनुरोध गरिएको छ ।

सूचनाअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरू तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूलाई बिहीबार बिहान १० बजेदेखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन भनिएको छ । सोही समयमा अर्थ समितिका सदस्यहरू र विधायन व्यवस्थापन समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन आग्रह गरिएको छ ।

त्यस्तै, उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूलाई बिहीबार दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन भनिएको छ । कानून, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन अनुरोध गरिएको छ ।

भोलि शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सदस्यहरूलाई बिहान १० बजेदेखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन भनिएको छ । पूर्वाधार विकास समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन आग्रह गरिएको छ ।

महिला तथा सामाजिक मामिला समितिका सदस्यहरूलाई शुक्रबार दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन भनिएको छ भने राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन आग्रह गरिएको छ ।

यस्तै, वैशाख २८ गते सार्वजनिक लेखा समितिका सदस्यहरू र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूलाई समेत छुट्टाछुट्टै सभाकक्षमा उपस्थित हुन सचिवालयले अनुरोध गरेको छ ।