काठमाडौं-नेपाल बार एसोसिएसनले संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसको विषयमा आफ्नो धारणा भोलि मात्र सार्वजनिक गर्ने भएको छ ।
बारका अध्यक्ष डा. विजय मिश्रले पूर्वपदाधिकारीसँग छलफल गरेपछि मात्र बार एसोसिएसनले औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए ।
‘यो विषयमा पूर्वपदाधिकारीहरूसँग छलफलपछि मात्र हाम्रो धारणा बाहिर ल्याउँछौं । भोलि नै बैठक बस्छौं,’ अध्यक्ष मिश्रले भने ।
संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्चका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ६ जना न्यायाधीश मध्ये शर्मा चोथौ नम्बरमा थिए ।
संवैधानिक परिषद्को निर्णयमा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले फरक मत राखेका थिए ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि डा. शर्मा प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।







प्रतिक्रिया