अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा उपसभामुखको हस्ताक्षर खेदपूर्ण छ: हर्क साम्पाङ

प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा उपसभामुखको हस्ताक्षर खेदपूर्ण छ: हर्क साम्पाङ


काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि प्रकट गरेका छन्। वैशाख २५ गते शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै संसदीय दलका नेता समेत रहेका साम्पाङले सरकारले विधि र पद्धति मिचेर गरेको नियुक्तिका लागि सिफारिस गरेको बताएका हुन्। 

अध्यक्ष साम्पाङले संसद्लाई छलेर र राष्ट्र प्रमुखलाई दबाब दिएर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरिनु आफैँमा गलत कदम भएको उल्लेख गरेका छन्। उनले वरियताको क्रममा चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने सरकारको निर्णयलाई ठुलो गल्तीको संज्ञा दिँदै यस्तो गलत कार्यलाई कदापि सही भन्न नसकिने स्पष्ट पारेका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘नियुक्तिसम्बन्धी बैठकमा एमसीसी र एसपीपी जस्ता विषयको प्रसंग ल्याएर दबाब र प्रभाव सिर्जना गरिएको अवस्थामा हाम्रै पार्टीबाट जानु भएको उपसभामुखले समेत वरीयताको क्रमलाई उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण छ। यसरी विधिलाई मिचेर राजनीतिलाई अघि सार्ने चलनको श्रम संस्कृति पार्टी विरोध गर्दछ।’

अध्यक्ष साम्पाङले यो नियुक्ति प्रक्रियामा राजनीतिक तथा कानुनी स्वार्थ लुकेको आशङ्का समेत गरे। सहकारी ठगी प्रकरण र भदौ २३–२४ को ‘जेनजी’ आन्दोलन जस्ता गम्भीर विषयहरूमा आफ्नो पक्षमा निर्णय गराउन सरकारले यस्तो कदम चालेको हुनसक्ने उनको दाबी छ।