काठमाडौं- नेपाल पत्रकार महासंघले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य जगदीश खरेलले प्रकाशित समाचारका विषयमा राजधानी दैनिक पत्रिका बन्द गर्न दिएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा २०८३ वैशाख २८ गते संसद बैठकमा बोल्दै सांसद खरेलले संवैधानिक हकको ख्याल नगरी पत्रिका बन्द गर्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई असंवैधानिक, निन्दनीय र विधायकलाई पटक्कै नसुहाउने व्यवहारका रूपमा लिएको छ ।
महासंघले समाचार सामग्रीप्रति असहमति भए कानुनी र संस्थागत प्रक्रियाअन्तर्गत प्रेस काउन्सिल नेपाल मार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ। साथै समाचारका विषयलाई लिएर फौजदारी मुद्दा बनाउँदै प्रहरीको साइबर ब्यूरोमा उजुरी गर्नु पनि प्रेस स्वतन्त्रताविरुद्धको कार्य भएको महासंघको भनाइ छ ।
त्यसैगरी, बीमापोष्ट डटकममा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतबाट अन्तरिम आदेश जारी भएको घटनाप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ। उक्त अनलाइनमा २०८२ चैत २४ र २६ गते प्रकाशित समाचार हटाउन सम्पादकका नाममा आदेश जारी गरिएको हो।
महासंघले कुनै पनि समाचारप्रति असन्तुष्टि भए त्यसको उजुरी र छानबिन गर्ने अधिकार प्रेस काउन्सिल नेपालको रहेको उल्लेख गर्दै प्रचलित विधि छलेर विपक्षीको सुनुवाइ नै नगरी समाचार हटाउन एकतर्फी आदेश आउनु चिन्ताजनक भएको जनाएको छ।
महासंघले उक्त आदेशमा पुनर्विचार गर्न तथा प्रेसको संवैधानिक अधिकार र प्रेस स्वतन्त्रताको संरक्षण गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।








प्रतिक्रिया