सर्लाही-सर्लाहीको हरिपुर नगरपालिका-५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय हरिपुरका अनुसार शुक्रबार साँझ करिब ६ बजे कौडेना बजार निवासी बिरेन्द्र चौधरीको कृष्ण इँटा उद्योगबाट इँटा निकाल्ने क्रममा पर्खाल खसेर मजदुरहरू पुरिएका थिए।
मृत्यु हुनेहरूमा गोडैता नगरपालिका–७ रामवन निवासी ५० वर्षीय फिताई मन्सुर, गोडैता नगरपालिका–९ निवासी ३५ वर्षीय शम्भु राउत र भारतको लखिमपुर निवासी ३५ वर्षीय अंगद कुमार रहेको प्रहरी जनाएको छ।
प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि पुर्याइएका उनीहरूलाई चिकित्सकले क्रमशः साँझ ७ः१५, ६ः५६ र ६ः४७ बजे मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको हो ।
अस्पतालमा चिकित्सकले जाँच गर्दा उनीहरूलाई मृत घोषणा गरिएको थियो । त्यसैगरी मलंगवा नगरपालिका–७ निवासी ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन् ।
तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने सत्यनारायण महतोको स्थानीय क्लिनिक मजुर्वामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरीका अनुसार साँझ ६:३० जानकारी पाएपछि प्रहरी पुगेर तत्काल उद्धार गरी घाइतेहरूलाई प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो ।




प्रतिक्रिया