झापा-झापाका निर्माण व्यवसायीहरुले सरकारी विकास निर्माणका काम ठप्प पारेका छन्। निर्माण व्यवसायी संघ झापाको नेतृत्वमा निर्माण व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय झापालगायत सरोकारवाला निकायहरुलाई ज्ञापनपत्र बुझाउँदै पेट्रोलियमलगायत निर्माण सामग्री, ढुवानी एवम् श्रमिक लागतमा भएको चरम मूल्यबृद्धिका कारण वर्तमान अवस्थामा काम गर्न नसकिने जनाएका हुन् ।
निर्माण व्यवसायी संघ झापाका अध्यक्ष रमेश अधिकारीकाे नेतृत्वमा प्रथम उपाध्यक्ष केदार गिरी, तृतीय उपाध्यक्ष नयन बराल, महासचिव पुष्पराज निरौला, सचिव लोकेन्द्र श्रेष्ठ, कोषाध्यक्ष यज्ञनिधि भुर्तेल, सह कोषाध्यक्ष सुरेन्द्र धिमाल, अग्रज निर्माण व्यवसायी भीमचन्द्र भट्टराई, ओम पौडेल, शम्भु कार्कीलगायत उल्लेख्य संख्यामा रहेका निर्माण व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय झापामा सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा निर्माण सामग्रीमा मूल्य समायोजनको विषय लिएर संघीय तथा प्रदेश सरकारका मन्त्रालयहरुलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनवाइ नभएपछि काम रोक्न बाध्य हुनुपरेको उल्लेख छ ।
अहिले काम नगरेको वहानामा सम्बन्धित कार्यालयहरुले निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राख्न सकिने, बैंक जमानत खोस्न सकिनेजस्ता विषय उल्लेख गर्दै पत्र पठाएर आतंकित पार्न थालिएको बताउँदै संघका महासचिव निरौलाले अहिलेकै अवस्थामा काम गर्दा व्यवसायीहरुले चरम आर्थिक संकटको सामना गर्नुपर्ने बताए । ‘मूल्य समायोजन नहुँदा कुनै हालतमा काम गर्न सकिँदैन’, उनले भने– ‘सबैखाले निर्माण सामग्रीको मूल्य दोब्बर भएको छ, यस्तो अवस्थामा निर्माण व्यवसायीले सबै जायजेथा बेचेर पनि काम गर्न सक्तैन ।’
सरोकारवाला निकायमा बुझाइएको ज्ञापनपत्रमा भनिएको छ– ‘मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन निर्माण उद्योगले महत्वपूर्ण भूमिका खेलेको छ । यसको कुल ग्राहस्थ उत्पादनमा करिब १३ प्रतिशत योगदान रहेको र सरकारको पूँजीगत बजेटमध्ये ८० प्रतिशत खर्च निर्माण क्षेत्रमार्फत हुने गरेको छ । तर, पछिल्लो समय डिजेल, बिटुमिन लगायत सामग्रीको मूल्य अत्यधिक बढेपछि निर्माण उद्योग संकटमा परेको छ । रुस–युक्रेन युद्धअघि प्रतिलिटर १२९ रुपैयाँ रहेको डिजेलको मूल्य बढेर हाल २२५ रुपैयाँ पुगेको छ भने बिटुमिनको मूल्य प्रतिकेजी ७५ रुपैयाँबाट बढेर १६५ रुपैयाँ पुगेको छ ।





प्रतिक्रिया