कास्की-पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला। पोखराको अँधेरीकुनाबाट सुरु हुने फिर्के फेवातालमा गएर मिसिन्छ। तर फिर्केखोला अहिले अतिक्रमणको सिकार मात्र बनेको छैन, फोहर विसर्जन गर्ने स्थलसमेत बनेको छ।
अतिक्रमणका कारण खोलाको प्राकृतिक बहाव नै रोकिने अवस्थाका बीच लामो समयदेखि फिर्के चर्चामा रह्यो। यसैबीच, अन्ततः खोलाघरभित्रका अतिक्रमित संरचना आजदेखि अभियानका रूपमा हटाउन सुरु गरिने भएको छ। महानगरले लामो प्रयासपछि अन्ततः फिर्केका अतिक्रमित संरचना हटाउन डोजर चलाउन लागेको हो।
महानगरले फिर्केको सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको थियो। महानगरले गत वैशाख ३ गते सार्वजनिक सूचना प्रकाशित गरी सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो।
खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थाहरूलाई पूर्वसूचना दिई सकिएकाले आजदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। अतिक्रमित संरचना हटाउने कार्यको औपचारिक सुरुआत महानगर प्रमुख आचार्यले जिरोकिमी नजिक फिर्केपुलबाट गर्नुहुनेछ। महानगरले अतिक्रमित संरचना हटाउनका लागि सुरु गरिने अभियानको सबै तयारीका काम सकिएको जनाएको छ।
महानगरका फिर्केका तीन स्थानबाट अतिक्रमित संरचना हटाउन सुरु गरिनेछ । पोखरा–२ र १८ को सिमाना अँधेरिकुनादेखि सुरु गरी वडा ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नम्बर ५ र ८ तर्फ र पोखरा–७ र ८ को सिमाना जिरोकिलो मिटरस्थित लायन्स भवनदेखि फेवातालतर्फ गरी तीन स्थानबाट डोजरहरू चलाइने छ ।
अतिक्रमित संरचना हटाउने अभियान बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको नेतृत्वमा सञ्चालन हुने महानगरले जनाएको छ । “फिर्के खोला लगायतका सबै स्थानका सार्वजनिक जमिनका संरचना हटाएर सार्वजनिक सम्पत्तिको संरक्षणका लागि महानगरले योजनाबद्ध हिसाबले काम सुरु गरेको छ । आजदेखि खाली गराउन सुरु गरिएको क्षेत्र खोलाघरभित्रको भाग हो । खोला कसैको निजी सम्पत्ति हुन सक्दैन भन्ने तथ्यलाई हामी सबैले गम्भीरतापूर्वक मनन गरौँ,” महानगर प्रमुख आचार्यले भन्नुभयो ।
महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाहरूले भने आफ्ना संरचना खाली गरिसकेका छन् । फिर्केमा रहेको लायन्स क्लबले शुक्रबार नै सबै सामान सारिसकेको छ । त्यसैगरी, फोटोग्राफर सङ्घलगायतले पनि भवन खाली गरेका छन् ।
महानगरले गरेको फिर्के नापजाँच प्रतिवेदनअनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका १६० संरचना निर्माण गरिएका छन् । फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ वटा स्थायी संरचना निर्माण गरेको पाइएको नाप जाँच प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरू निर्माण गरिएका छन् । साबिक ग्यारजातीपछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिका–१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ आठ किलोमिटर रहेको छ । यो खोला कम्तीमा ३।३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइएको छ ।
फिर्केखोलाको प्राविधिक नाप जाँचपछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरी ५८८ सीमास्तम्भहरू गाडिएका थिए ।




प्रतिक्रिया