काठमाडौं-प्रेस चौतारी नेपालले वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठमाथि राज्य संयन्त्रको दुरुपयोग गर्दै धरपकड, निगरानी र मानसिक दबाब सिर्जना गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाद्वारा जारी प्रेस विज्ञप्तिमा जनआस्था साप्ताहिक र जनआस्था डटकममा प्रकाशित समाचारलाई आधार बनाएर गृहमन्त्रालयसम्मको निर्देशनमा पत्रकार श्रेष्ठलाई लक्षित गरी दबाब, धम्की तथा समाचार स्रोत खुलाउन बाध्य पार्ने प्रयास भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताविरुद्ध भएको भन्दै पत्रकारमाथि हुने कुनै पनि प्रकारका प्रतिशोधपूर्ण गतिविधिको विरोध गरिएको छ। साथै पत्रकार श्रेष्ठले आफूमाथि उठाइएका आरोपको निष्पक्ष छानबिनको माग गरिरहेको अवस्थामा राज्य पक्षबाट थप दबाब सिर्जना हुनु न्याय प्रणालीमाथि नै गम्भीर प्रश्न उठाउने कार्य भएको प्रेस चौतारी नेपालको भनाइ छ।
प्रेस चौतारी नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्ने, पत्रकारलाई धम्क्याउने तथा राज्य संयन्त्रमार्फत निगरानी गर्ने कार्य तुरुन्त बन्द गर्न सरकारसँग माग गरेको छ। साथै घटनाको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
संस्थाले सञ्चारमाध्यम र पत्रकारलाई प्रभावमा पार्ने वा अनावश्यक हस्तक्षेप गर्ने कार्य लोकतन्त्र र नागरिक अधिकारविरुद्ध हुने भन्दै सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज तथा मानवअधिकारकर्मीलाई प्रेस स्वतन्त्रताको पक्षमा उभिन आग्रह समेत गरेको छ।





प्रतिक्रिया