काठमाडौँ-सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ सभा हल निर्माण अन्तिम चरणमा पुगेको छ। भवनको अधिकांश संरचनागत काम सम्पन्न भइसकेको भए पनि माइक, साउन्ड सिस्टम तथा केही प्राविधिक उपकरण जडानको काम अझै बाँकी रहेको निर्माण पक्षले जनाएको छ। तर, निर्माण कार्य कहिलेसम्म सम्पन्न हुने भन्नेबारे स्पष्ट मिति भने अझै तय हुन सकेको छैन।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा हेरिएको नयाँ संसद् भवनको निर्माण कार्य पटक–पटक म्याद थप्दा पनि समयमै सम्पन्न हुन नसकेपछि संसद् नेतृत्वले चासो व्यक्त गर्दै आएको छ। यही क्रममा सभामुख डीपी अर्यालले गत असार १ गते निर्माणाधीन संसद् हलको स्थलगत निरीक्षण गरेका थिए।
निरीक्षणका क्रममा सभामुख अर्यालले संसद् सचिवालयका कर्मचारी तथा निर्माण पक्षसँग कामको प्रगति विवरण लिँदै निर्माण सम्पन्न हुने निश्चित समयसीमा तत्काल उपलब्ध गराउन निर्देशन दिएका थिए। उनले अब थप बहाना स्वीकार्य नहुने स्पष्ट पार्दै तोकिएको समयभित्र काम सम्पन्न नभए दैनिक एक करोड रुपैयाँसम्म जरिवाना तिराउन सकिने चेतावनीसमेत दिएका थिए।
सभामुख अर्यालले सहरी विकास मन्त्रालयका जिम्मेवार अधिकारीहरूलाई काममा तीव्रता दिन निर्देशन दिँदै भनेका थिए, ‘रातदिन काम गरेर भए पनि बोलेको कुरा पुर्याउनुपर्यो। बहाना बनाइरहनुभएको छ। यो हामीमाथिको मात्र होइन, राष्ट्रकै अपमान हो। अब मलाई स्पष्ट निष्कर्ष चाहियो।’
निर्माण कार्य सम्पन्न हुन ढिलाइ हुँदा प्रतिनिधि सभाका बैठकहरू हाल अस्थायी हलबाट सञ्चालन भइरहेका छन्। नयाँ सभा कक्ष सञ्चालनमा आएपछि अत्याधुनिक प्रविधिसहितको स्थायी हलमा संसद्का बैठक नियमित रूपमा सञ्चालन गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ।
नयाँ संसद् भवनमा आधुनिक ध्वनि प्रणाली, डिजिटल मतदान व्यवस्था, पर्याप्त दर्शक दीर्घा तथा सांसदहरूका लागि सुविधा सम्पन्न बैठक कक्ष रहनेछन्। निर्माण सम्पन्न भएपछि संसद्को कार्यसम्पादन थप व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री हुने अपेक्षा गरिएको छ।
यद्यपि, निर्माण कार्य अन्तिम चरणमा पुगेको भनिए पनि सम्पन्न हुने निश्चित मिति अझै सार्वजनिक नभएकाले आयोजनाको प्रगति र समय व्यवस्थापनप्रति प्रश्न उठिरहेका छन्। अब निर्माण पक्षले दिएको प्रतिबद्धता अनुसार काम सम्पन्न हुन्छ कि फेरि म्याद थपिन्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।















प्रतिक्रिया