काठमाडौं-कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘Infosys Finacle Innovation Awards 2026’ अन्तर्गत ‘बिजनेस मोडेल इनोभेसन’ (Business Model Innovation) विधामा प्ल्याटिनम अवार्डबाट सम्मानित भएको छ।
बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (KYC-Workflow Compliance_ सम्बन्धी नवप्रवर्तनकारी पहलका लागि उक्त सम्मान प्राप्त गरेको हो। ग्राहक पहिचान तथा अनुपालन प्रक्रियालाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउने बैंकको प्रयासलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिँदै अवार्ड प्रदान गरिएको जनाइएको छ।
प्रत्येक वर्ष इन्फोसिस फिन्याकलद्वारा आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका उत्कृष्ट नवप्रवर्तन तथा रूपान्तरणका अभ्यासलाई सम्मान गर्न सञ्चालन हुँदै आएको छ। यस वर्ष ९ विभिन्न विधामा ५०० भन्दा बढी आवेदन परेका थिए।
कुमारी बैंकले आफ्नो केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्ल्याटिनम सम्मान हासिल गरेको हो। उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डहरूको कडाइका साथ पालना गर्न सहयोग पुर्याएको बैंकले जनाएको छ।
बैंकका अनुसार डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप पारदर्शी, भरपर्दो र ग्राहकमैत्री बनाउन समेत यस प्रणालीले महत्त्वपूर्ण योगदान पुर्याएको छ।
यस अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, विश्वसनीय तथा ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता अझ सुदृढ बनाएको जनाएको छ। बैंकले आगामी दिनमा डिजिटल समाधानको विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वसनीय र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Top of Form
Bottom of Form






प्रतिक्रिया