विराटनगर–नेकपा (एमाले)ले पार्टी पुनर्गठन, साङ्गठनिक कार्यदिशा तथा व्यवस्थापनका विषयमा देशव्यापी सुझाव सङ्कलन अभियानअन्तर्गत कोशी प्रदेशमा छलफल सुरु गरेको छ।
एमाले केन्द्रीय कमिटीको आयोजना तथा एमाले कोशी प्रदेश कमिटीको संयोजनमा सुरु भएको सुझाव सङ्कलन कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहेको छ।
एमाले संसदीय दलका नेता एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा उपाध्यक्षद्वय विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल तथा सचिवहरू भानुभक्त ढकाल, शेरधन राई र हिक्मत कार्की सुझाव सङ्कलन कार्यक्रममा सहभागी छन्।
पछिल्लो समय पार्टीभित्र र बाहिर उठेका विविध प्रश्नहरूको निरूपण गर्दै भावी राजनीतिक तथा साङ्गठनिक अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा कार्यदलले नेताहरूसँग सघन छलफल थालेको हो।
विराटनगरस्थित कञ्चनजंगा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कोशी प्रदेशका केन्द्रीय सदस्य, विगतका सङ्घीय निर्वाचनका उम्मेदवार, जिल्ला अध्यक्षहरू तथा समाजका प्रबुद्ध व्यक्तित्व एवं पार्टीभित्र प्रभाव पार्ने व्यक्तिहरूको सहभागिता रहेको छ।
छलफलका क्रममा प्राप्त सुझावहरूलाई कार्यदलले प्रतिवेदनका रूपमा तयार गरी पार्टी केन्द्रीय कमिटीसमक्ष पेश गर्ने जनाएको छ।
पार्टी केन्द्रीय कमिटी सदस्य ऋषिकेश पोखरेलका अनुसार सुझाव सङ्कलन कार्यक्रमपछि बुधबार कोसी प्रदेशको विस्तारित भेला पनि आयोजना गरिएको छ। उक्त भेलामा कार्यदलका पदाधिकारीहरूको समेत उपस्थिति रहनेछ।
Top of Form
Bottom of Form






प्रतिक्रिया