अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारका राम्रा काममा साथ, गलत काममा कडा विरोध गर्छौं: ज्ञानेन्द्र शाही

सरकारका राम्रा काममा साथ, गलत काममा कडा विरोध गर्छौं: ज्ञानेन्द्र शाही


काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सरकारका सकारात्मक कामलाई समर्थन गर्ने तर भ्रष्टाचार, बेथिति र अनियमितताका विषयमा निरन्तर खबरदारी गरिरहने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै शाहीले विद्युतीय सवारी साधन (इभी) सम्बन्धी करछली, बजेट सूचना चुहावट तथा राजस्व नोक्सानीका विषयमा निष्पक्ष संसदीय छानबिन समिति गठन गर्न माग गरे।

उनले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कदम चाल्ने अपेक्षा आफूहरूमा अझै रहेको उल्लेख गर्दै राप्रपा विरोधका लागि मात्र विरोध गर्ने पक्षमा नरहेको बताए। तर सरकारका केही नीति, धारणा र विधेयकप्रति गम्भीर असहमति रहेको उनको भनाइ थियो।

शाहीले इभी करछली र बजेट चुहावट जस्ता प्रकरणमा महालेखा परीक्षकको प्रतिवेदनलाई बेवास्ता गरिएको आरोप लगाउँदै, कुनै अनियमितता नभएको भए भन्सारबाट आएका गाडीहरू प्रधानमन्त्री कार्यालयको निर्देशनमा दुई सातासम्म किन रोकिएको थियो भन्ने प्रश्न उठाए।

उनले स्वास्थ्य बीमामा कटौती, बिरामीमाथि कर लगाइएको व्यवस्था तथा विद्युत्मा भ्याट लगाइएकामा समेत असन्तुष्टि जनाए। त्यस्तै, दुई करोड रुपैयाँभन्दा बढी लगानी भएका किसानलाई मात्र अनुदान दिने नीतिको विरोध गर्दै साना तथा गरिब किसानलाई प्राथमिकता दिनुपर्ने बताए।

संसद्मा प्रमाण र चार्ट ल्याउन सत्ता पक्षले दिएको चुनौतीप्रति प्रतिक्रिया दिँदै शाहीले प्रमाण संकलन र प्रस्तुत गर्ने काम संसदीय छानबिन समितिको हुने बताए। राप्रपाले अर्थमन्त्रीको व्यक्तिगत योग्यतामाथि नभई भन्सार दर हेरफेर र राजस्व नोक्सानीका विषयमा प्रश्न उठाएको स्पष्ट पार्दै निष्पक्ष छानबिनको माग दोहोर्‍याए।

उनले उच्च शैक्षिक योग्यता मात्र इमानदारिता र सुशासनको आधार नहुने उल्लेख गर्दै विगतमा उच्च शिक्षित अर्थमन्त्रीहरूको कार्यकालमै ठूला भ्रष्टाचारका घटना सार्वजनिक भएको स्मरण गराए।

सत्ता पक्षले साना दललाई ‘एक सिटे’ वा ‘दुई सिटे’ भन्दै अपमान गरेको आरोप लगाउँदै शाहीले संसदीय व्यवस्थामा एक जना सांसदको पनि उत्तिकै महत्व हुने बताए। संसद् संख्या भन्दा नीति, विधि र जनताको आवाजले चल्नुपर्ने उनको भनाइ थियो।

शाहीले विगतका र वर्तमान सरकारबीच प्रवृत्तिगत रूपमा कुनै फरक नदेखिएको दाबी गर्दै ३३ किलो सुन काण्ड र हालको करछली तथा भन्सार दर हेरफेर प्रकरणको तुलना गरे। हिजो जस्तै आज पनि अनियमिततामाथि निष्पक्ष छानबिन हुन नसकेको उनको आरोप थियो।

सम्बोधनको अन्त्यमा उनले जनताले केवल अनुहार परिवर्तन होइन, शासन शैली र राजनीतिक संस्कारको परिवर्तन खोजेको उल्लेख गर्दै राष्ट्र र जनताको हितका लागि सत्यको पक्षमा निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरे।

Skip This