अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फूलबारीको मौनता

फूलबारीको मौनता


नक्साले आजसम्म  न कुनै जात लेख्यो, न धर्म लेख्यो
हिमालले उचाइमा कहिल्यै कसैको नाम लेख्यो।
देश त एउटै अक्षरले इतिहासभरि चिनियो,
मनले भने अदृश्य बारको पहिलो धाम लेख्यो।।


फूलहरू सबै उस्तै थिए, सुगन्ध फरक थिएन,
हावाको यात्रामा कुनै सीमाको घर थिएन।
कसले सिकायो फूललाई आफ्नै बगैँचा छोड्न,
काँडाभन्दा डरलाग्दो मनभित्रको डर थिएन।।


नदीले पहाड छोडी तराईलाई अँगालो हाल्यो,
बादलले सबै खेतमा बराबरी पानी खस्यो।
प्रकृतिले विभाजनको पाठ कहिल्यै पढेन,
मानिसले भने आफ्नै छायाँसँग दूरी पाल्यो।।


चौतारी उस्तै थियो, थकाइ उस्तै थियो,
माटोको गन्ध र पसिनाको रङ पनि उस्तै थियो।
फरक यति मात्र भयो,
हामी हरायौँ, ‘म’ को यात्रा निकै दह्रो थियो।।
कहिले यो फूलबारी चार वर्ण, छत्तीस जात थियो,
सुगन्धले सबैलाई एउटै ऋतुको साथ थियो।
आज फूलभन्दा गमलाको परिचय ठूलो भयो,
सायद मालीको आँखामा नै मौसमको घात थियो।।

आफ्नै घरभित्र पाहुना बनेको अनुभूति कस्तो?
आफ्नै आकाशमुनि परिचय खोज्नु कस्तो?
जब माटोभन्दा पहिले जन्मथलो बोल्नुपर्छ,
त्यो मौन पीडाको आवाज सुन्नु कस्तो?।।

ऐनाले अनुहार होइन, मन देखाउन छोडेपछि,
विश्वासका बत्तीहरू एकएक गरी निभेपछि।
देश टुक्रिएको होइन,
सम्बन्धहरू नक्साभन्दा साना हुन थालेपछि।।

बीउलाई थाहा थिएन कुन खेत उसको होला,
हावालाई थाहा थिएन कुन दिशा उसको होला।
प्रश्न त मानिसले मात्र सिर्जना गर्यो,
माटोले कहिल्यै सोधेन, “तिमी कुन ठाउँको होला?”।।


राजमार्गहरू जोडिँदै गए, मनका बाटा छुट्टिए,
घरहरू अग्लिँदै गए, चौतारीका दिन लुटिए।
सभ्यता कङ्क्रिटमा उम्रियो होला सायद,
तर सम्बन्धका पीपलहरू बिस्तारै सुक्टिए।।


देश संकटमा पर्दैन हिमाल र तराई टाढा हुँदा,
देश संकटमा पर्छ मनभित्र पर्खाल खडा हुँदा।
फूलबारी उजाड हुनु फूलको दोष कहाँ थियो?
मालीले सुगन्धभन्दा बारलाई ठूलो ठान्दा।।

‍                       जनकपुरधाम