अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा जति छिटो उदाएको छ, पतनको सम्भावना पनि उत्तिकै छ: महासचिव पोखरेल

रास्वपा जति छिटो उदाएको छ, पतनको सम्भावना पनि उत्तिकै छ: महासचिव पोखरेल


काठमाडौँ-नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय पपुलिजम, अवसरवाद र अराजकताको जगमा भएको दाबी गर्दै त्यसलाई नेपाली राजनीतिका लागि दीर्घकालीन चुनौतीका रूपमा नहेरेको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले रास्वपा जति छिटो राष्ट्रिय शक्तिका रूपमा उदाएको छ, त्यसको पतनको सम्भावना पनि उत्तिकै रहेको बताए। उनले रास्वपालाई सामना गर्न एमालेले वैचारिक र साङ्गठनिक रूपमा आफूलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।

‘जुन शक्ति जति छिटो उदय हुन्छ, त्यसको पतनको सम्भावना पनि त्यति नै बढी हुन्छ,’ महासचिव पोखरेलले भने, ‘त्यसैले जति छिटो उदय, त्यति छिटो पतनको जोखिम भन्ने यथार्थलाई बुझ्न आवश्यक छ।’ रास्वपा नेपालको राजनीतिमा दीर्घकालीन चुनौती बन्ने शक्ति नभएको उनको भनाइ थियो। उनले अगाडि थपे, ‘त्यसलाई सामना गर्न सकिन्छ, तर त्यसका लागि सबैभन्दा पहिले हामी आफैँ तयार हुनुपर्छ। वैचारिक रूपमा हामीबाट टाढिएको नयाँ पुस्तालाई पुनः जोड्ने, हामीबाट अलग्गिएको आधारभूत वर्ग र समुदायलाई पार्टीसँग आबद्ध गर्ने, हामीबाट टाढिन पुगेको मध्यम वर्गको विश्वास पुनः जित्ने काम गर्नुपर्छ।’

महासचिव पोखरेलले पार्टीबाट टाढिएको नयाँ पुस्ता, आधारभूत वर्ग, समुदाय तथा मध्यम वर्गको विश्वास पुनः जित्न आवश्यक रहेको उल्लेख गर्दै समाजका विभिन्न भाषा, संस्कृति र समुदायलाई समेट्ने गरी पार्टीका नीति, कार्यशैली र साङ्गठनिक संरचनामा सुधार गर्नुपर्ने बताए। निर्वाचन परिणामपछि पार्टी पङ्क्तिमा देखिएको निराशा र पलायनताको भाव अन्त्य गर्दै कार्यकर्तामा नयाँ उत्साह सिर्जना गर्नु अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ थियो।

महासचिव पोखरेलले पार्टीलाई संस्थागत प्रक्रियामार्फत थप एकताबद्ध, सक्षम र प्रभावकारी बनाउने अभियान अघि बढाइने जानकारी दिए। कार्यकर्ताहरूलाई आफ्ना मनमा रहेका प्रश्न, अन्योल र गुनासाहरू हटाएर आत्मविश्वासका साथ जनतामाझ जान पनि उनले आग्रह गरे।

यसैबीच उनले एमाले र पार्टी नेतृत्वमाथि लगाइएका भ्रष्टाचारका आरोपहरू प्रमाणित गर्न सरकारलाई चुनौती दिएका छन्। यती होल्डिङ्स, ओम्नी र गिरिबन्धु टी–स्टेटलगायतका प्रकरणमा एमालेलाई राजनीतिक प्रतिशोधका आधारमा मुछिएको दाबी गर्दै उनले आर्थिक लेनदेन नै नभएको विषयमा भ्रष्टाचारको आरोप लगाउनु अनुचित भएको बताए।

पोखरेलले विगतमा पनि राजनीतिक पूर्वाग्रहका आधारमा एमाले नेतृत्वलाई दुःख दिने प्रयास भएको उल्लेख गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राख्दा समेत कुनै प्रमाण फेला नपरेको जिकिर गरे। उनले वर्तमान सरकारसँग प्रमाण भए कानुनी प्रक्रिया अघि बढाएर देखाउन आग्रह गर्दै आरोप मात्र लगाएर पार्टीलाई बदनाम गर्न नसकिने बताए।

एमालेमा अन्य दलको तुलनामा बढी इमानदार नेता तथा कार्यकर्ता रहेको दाबी गर्दै पोखरेलले सुशासनको सवालमा पार्टी जुनसुकै चुनौती सामना गर्न तयार रहेको बताए। उनले एमाले कार्यकर्तालाई पार्टीको स्वच्छ छवि र सुशासनप्रतिको प्रतिबद्धता लिएर जनतामाझ जान आग्रह गरे।