काठमाडौं-नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु भएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बोलाएको बैठकमा भोटेकोसी-त्रिशूली नदीमा आएको प्रलयकारी बाढीसहित चारवटा विषयमा छलफल भइरहेको छ।
बैठकमा भोटेकोसी–त्रिशूली बाढीबाट भएको जनधनको क्षति तथा उद्धार, राहत र पुनःस्थापनाको अवस्था, सर्वदलीय बैठकका निर्णय तथा त्यसको कार्यान्वयन प्रक्रिया, सरकारले गठन गरेका पछिल्ला समितिहरूको कार्यसम्पादन र अन्य समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको विपक्षी दलका नेताहरूले बताएका छन्।
बैठकमा नेपाली कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक वासना थापा सहभागी छन्। त्यस्तै नेकपा एमालेबाट उपनेता पद्मा अर्याल र सचेतक निता घतानी, नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल तथा श्रम संस्कृति पार्टीबाट सांसद ध्रुव राई सहभागी छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठकमा सहभागी भएको छैन।
विपक्षी दलहरूले पछिल्लो समय मुलुकमा देखिएका राजनीतिक तथा समसामयिक घटनाक्रमबारे साझा धारणा बनाउने उद्देश्यले बैठक बोलाइएको बताएका छन्। बैठकमा विशेषगरी भोटेकोसी–त्रिशूली बाढीपछिको अवस्था र सरकारले चालेका कदमबारे समेत समीक्षा हुने बताइएको छ।


प्रतिक्रिया