काठमाडौँ-कालिगढ तथा विभिन्न पेशा-व्यवसायमा संलग्न श्रमिकले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदैछन्।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्ने परम्परा छ। यस अवसरमा विभिन्न कलकारखाना, उद्योग तथा कार्यस्थलमा विश्वकर्मा भगवान्को तस्बिर राखेर विशेष पूजा गरिन्छ।
विश्वकर्मा पर्वका लागि कलकारखाना तथा कार्यस्थललाई विशेषरूपमा सजाइन्छ। श्रमिक तथा कालिगढले आफूले दैनिक प्रयोग गर्ने औजार, मेसिन तथा उपकरणको पूजाआराधना गर्ने गर्छन्। धार्मिक विश्वासअनुसार यसरी पूजा गर्दा औजार तथा उपकरण लामो समय टिक्ने, कामका क्रममा नबिग्रने र राम्रो काम गर्न सकिने विश्वास छ।
विश्वकर्माको मूर्ति निर्माण गरी बागमतीको मुहानस्थल सुन्दरीजललगायत शुद्धस्थलमा लगेर विसर्जन गर्ने चलनसमेत छ। पछिल्लो समय इञ्जिन जडान भएका यन्त्र तथा सवारीसाधनको समेत विश्वकर्मा पूजाका अवसरमा पूजाआराधना गर्ने गरिएको छ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी कृष्णलाई लुकाएको धार्मिक विश्वास रहेको प्रा. तोयराज नेपाल बताउनुहुन्छ। एकै रातमा समुद्रको बीचमा द्वारका निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानिएको र सोही समयदेखि उहाँको पूजा गर्ने परम्परा सुरु भएको विश्वास गरिन्छ।
प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ। विश्वकर्माले निर्माण गरेको भनिएको ‘भेद द्वारका’ भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ।
विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत लिइन्छ। वास्तुशास्त्री शिव पोखरेलका अनुसार ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रसम्बन्धी ग्रन्थ विश्वकर्माले नै रचना गरेको विश्वास छ।
यही धार्मिक तथा सांस्कृतिक मान्यताको स्मरण गर्दै नेपालका कालिगढले विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वता र सीपको सम्मान गर्ने गर्छन्। पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
यसैगरी वास्तुशास्त्रका पुस्तकका लेखक तथा अध्येताको योगदानको स्मरण गर्दै वास्तुविद्ले आजको दिनलाई वास्तु दिवसका रूपमा मनाउने गरेका छन्।
पछिल्लो समय नेपालमा वास्तुविद्याप्रति पुनः चासो बढ्दै गएको छ। चार उपवेदमध्ये एक मानिने स्थापत्यवेदमा वास्तुशास्त्रसम्बन्धी विषय उल्लेख रहेको बताइन्छ। लुप्तप्रायः अवस्थामा रहेको स्थापत्यवेदमा आधारित सहर तथा आवास निर्माणप्रति चासो बढेसँगै वास्तुविद्याको महत्वसमेत बढ्दै गएको छ।


प्रतिक्रिया