काठमाडौँ-पहिरो तथा बाढीका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका केही सडकखण्डमा यातायात पूर्ण रूपमा रोकिएको छ भने केही स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
बागमती प्रदेशअन्तर्गत रसुवामा बाढीका कारण मुख्य राजमार्गको सम्पूर्ण सडकखण्ड अवरुद्ध भएको छ । विभागले अर्को सूचना नभएसम्मका लागि सडक बन्द रहेको जनाएको छ।
नुवाकोटमा टोखा–छहरे सडकखण्डको शिवपुरी गाउँपालिका-६ धादिङखोला क्षेत्रमा बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै, विदुर नगरपालिका-१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ।
यस्तै, गण्डकी प्रदेशको मनाङमा नासों गाउँपालिका-३ क्षेत्रमा चामे-बेँसीसहर सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका-६ क्षेत्रमा कर्णाली करिडोरसमेत पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको सडक विभागको विवरणमा उल्लेख छ।
विभागले सम्भावित बाढी, पहिरो तथा जोखिमयुक्त सडकखण्डमा आवश्यक सतर्कता अपनाउन र सडक खुल्ने/बन्द हुने अवस्थाबारे सम्बन्धित निकायको सूचनालाई आधार मानेर यात्रा गर्न आग्रह गरेको छ।



प्रतिक्रिया