चितवन-सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा नयाँ ट्र्याक निर्माण गरी बिहीबार बिहानदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार असोज १ गते बिहीबार बिहान ६ बजेदेखि कृष्णभीरमा सवारीसाधन दुवैतर्फ सञ्चालन हुन थालेका हुन्। नयाँ ट्र्याक निर्माण सम्पन्न भएपछि करिब १८ दिनदेखि अवरुद्ध राजमार्ग पुनः सञ्चालनमा आएको हो।
गत भदौ १० गते रसुवामा आएको भोटेकोशी बाढीपछि त्रिशूली नदीमा पानीको बहाव बढेको थियो। त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान गरेपछि करिब १०० मिटर सडक भासिएर यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।
सडक अवरुद्ध भएपछि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर वैकल्पिक नयाँ ट्र्याक निर्माण सुरु गरिएको थियो। नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म आवश्यक काम सम्पन्न गरिएपछि बिहीबार बिहानदेखि नियमित रूपमा दुईतर्फी यातायात सञ्चालन गरिएको हो।
पूर्वाधार विकास मन्त्रालयको समन्वयमा आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम अघि बढाइएको थियो। दुई दिनअघिदेखि नै सडकमा रोकिएका केही सवारीसाधनलाई साँझतर्फ कटाउन थालिएको थियो भने बिहीबारदेखि नियमित यातायात सञ्चालन गरिएको हो।
कृष्णभीरमा यातायात सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो रोकथामका लागि आंशिक रूपमा रोकिएको सडक सञ्चालनसम्बन्धी कामसमेत तत्कालका लागि रोकिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरमा यातायात सञ्चालनमा आएपछि तुइन खोलामा भइरहेको काम रोकिएको जानकारी दिए।
कृष्णभीरमा लामो समयसम्म सडक अवरुद्ध हुँदा ठूला सवारीसाधनले संघीय राजधानी काठमाडौं आवतजावत गर्न सकेका थिएनन्। यसको असर आपूर्ति व्यवस्थामा समेत परेको थियो भने काठमाडौंमा एलपी ग्यासको अभाव देखिएको थियो।
पृथ्वी राजमार्गको उक्त खण्डमा दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गरेको बताइएको छ।
राजमार्ग सञ्चालनमा आए पनि विभिन्न स्थानमा सडक भासिने, पहिरो जाने तथा ढुंगा–माटो खस्ने जोखिम कायमै रहेकाले चालक तथा यात्रुलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। विशेषगरी वर्षा भइरहेको समयमा सडकमा अवरोध देखिए जोखिम मोलेर यात्रा नगर्न तथा सडक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ।


प्रतिक्रिया