काठमाडौं-असोज ८ गतेयता देशका विभिन्न जिल्लामा भएका विपद्जन्य घटनामा परेर ३५ जनाको मृत्यु भएको छ। अविरल वर्षापछि आएको बाढी, पहिरो तथा हिमपहिरोलगायतका घटनामा परेर चार दिनको अवधिमा उक्त मानवीय क्षति भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यस अवधिमा १२ जनाभन्दा बढी व्यक्ति अझै हराइरहेका छन्। मनाङमा हिमपहिरोमा परेर १२ जना बेपत्ता भएका छन् भने उनीहरूको खोजी कार्य जारी रहेको छ।
विपद्का घटनामध्ये बागलुङमा सबैभन्दा बढी १२ जनाको मृत्यु भएको छ। त्यसैगरी म्याग्दीमा सात, पाल्पामा पाँच र मनाङमा चार जनाले ज्यान गुमाएका छन्।
यस्तै धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
विपद्का विभिन्न घटनामा परेर १५ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले प्रभावित क्षेत्रहरूमा उद्धार, राहत तथा खोजी कार्यलाई तीव्र बनाइएको जनाएको छ।



प्रतिक्रिया