अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठकका २२ बुँदे समसामयिक निर्णय (पूर्णपाठ)

एमाले केन्द्रीय कमिटी बैठकका २२ बुँदे समसामयिक निर्णय (पूर्णपाठ)


काठमाडौं-नेकपा (एमाले) को चार दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले २२ बुँदे समसामयिक निर्णय गरेको छ। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।

बैठकले पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको छ। त्यस्तै, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र देवराज घिमिरेसहित सात जनालाई स्थायी कमिटी सदस्य तथा २० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ।

महासचिव शंकर पोखरेलद्वारा जारी वक्तव्यअनुसार बैठकले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावकारी राहत, उद्धार तथा पुनर्स्थापनाको माग गरेको छ। जलवायु संकटको असर नेपालजस्ता विकासशील मुलुकले भोग्नुपरेको उल्लेख गर्दै एमालेले उद्धार तथा राहतमा सरकारको भूमिका समन्वयविहीन र निष्प्रभावी भएको आरोप लगाएको छ। सुरुङमा फसेका प्राविधिकको उद्धारमा विदेशी सहयोग नलिने सरकारी नीतिको समेत आलोचना गर्दै तत्काल पूर्वाधार पुनर्निर्माण र विस्थापितको पुनर्स्थापनाको माग गरेको छ।

समसामयिक राजनीतिक विषयमा बैठकले नयाँ सरकार गठनलगत्तै अध्यक्ष ओली र उपाध्यक्ष विष्णुप्रसाद पौडेलमाथि राजनीतिक प्रतिशोधका आधारमा गरिएको भनिएको कदमको भर्त्सना गरेको छ। भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न, विगतका प्रतिवेदन सार्वजनिक गर्न तथा सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकलाई विस्थापित गर्ने कार्य रोक्न माग गरेको छ।

त्यसैगरी, संविधान संशोधनका नाममा आधारभूत संरचना भत्काउन खोजिएको, ट्रेड युनियन, स्ववियु तथा सञ्चारमाध्यमको स्वतन्त्रतामाथि बन्देज लगाउन खोजिएको भन्दै एमालेले आपत्ति जनाएको छ। महँगी, ग्यास अभाव तथा चर्को कर फिर्ता लिन माग गर्दै सीमासम्बन्धी विषयमा संसद्मा प्रधानमन्त्रीबाट व्यक्त अभिव्यक्तिप्रति समेत गम्भीर चिन्ता व्यक्त गरेको छ।

बैठकले विगतका कमीकमजोरीको समीक्षा गर्दै पार्टीभित्र भावनात्मक एकता थप सुदृढ भएको निष्कर्ष निकालेको छ। पोलिटब्युरो, सल्लाहकार परिषद् तथा विभाग गठन गर्ने अधिकार केन्द्रीय सचिवालयलाई प्रत्यायोजन गर्दै एमालेले समग्र पार्टी पंक्तिलाई निर्वाचनको तयारीमा जुट्न आह्वान गरेको छ।

समसामयिक प्रस्तावहरू:

श्रद्धाञ्जली, समवेदना तथा स्वास्थ्यलाभको कामना

  1. केन्द्रीय कमिटीको यो तेस्रो बैठक देश, जनता र आन्दोलनका हितमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने प्रातः स्मरणीय शहीदहरूप्रति उच्च सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। कमरेड पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारी लगायत हाम्रा मार्गदर्शक र प्रेरणास्रोत अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दछ। जस्तासुकै प्रतिकुल अवस्थामा पनि न्यायको सङ्घर्षमा हामीलाई भरोसा प्रदान गर्ने जनसमुदायप्रति आभार व्यक्त गर्दछ। हामी उहाँहरूको सपनालाई सार्थक पार्न निरन्तर कर्त्तव्यपथमा अगाडि बढिरहने सङ्कल्प गर्दछौं।
  2. यस अवधिमा पार्टी केन्द्रीय सदस्य, पोखरा नगरपालिकाका पूर्व मेयर एवं गण्डकी प्रदेशसभाका पूर्व सदस्य कमरेड कृष्ण थापा र पूर्व केन्द्रीय सदस्य कमरेड खगेन्द्र राईको असामयिक निधन भएको छ। पार्टी उहाँहरूको योगदानको सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। हालै निधन हुनुभएका नेपाल बुद्धिजीवी परिषद्का पूर्व अध्यक्ष एवं भारतका लागि नेपालका राजदूत प्रा. हर्षनारायण धौभडेल, पार्टीका केन्द्रीय सल्लाहकार शोभाराम बस्नेत र लक्ष्मीप्रसाद पुन तथा मधेस प्रदेशसभा सदस्य जैनव खातुनप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछ। प्रतिष्ठित भाषा अभियन्ता, राष्ट्रभक्त एवं जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। शिक्षाविद् एवं काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा सुरेशराज शर्माको निधनप्रति शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछ।
  3. अध्यक्ष कमरेड केपी शर्मा ओलीका श्रद्धेय पिता मोहनप्रसाद ओलीको गत फागुन २९ गते दुःखद देहावसान भएको छ। पितृशोकमा पर्नुभएका अध्यक्ष लगायत यसै अवधिमा केन्द्रीय सचिव कमरेड शेरधन राई, कमरेड हिक्मत कार्की र केन्द्रीय सदस्य दीपक कार्की तथा केन्द्रीय सदस्यहरू कमरेड लालबहादुर थापा, निर्मला पाठक तथा सन्तोष शर्मा थापा मातृशोकमा पर्नुभएको छ। त्यसै गरी केन्द्रीय सदस्यहरू दामोदर भण्डारी, मनकुमारी जिसी, सहवीर बोगटी, कोमल वली, नारायण आचार्य र साजिदा खातुन सिद्दिकी पितृशोकमा पर्नु भएको छ। केन्द्रीय सदस्य निर्मला देवकोटा पतिशोकमा पर्नुभएको छ। पारिवारिक शोकमा पर्नुभएका अध्यक्ष कमरेड सहित सबै कमरेडहरूलाई समवेदना व्यक्त गर्दै दिवंगत बुवा आमाहरूप्रति यो बैठक श्रद्धाञ्जली अर्पण गर्दछ।
  4. उपचार र उपचारपछि स्वास्थ्यलाभको प्रक्रियामा रहनु भएका पार्टीका निवर्तमान उपाध्यक्ष कमरेड अष्टलक्ष्मी शाक्य, पार्टीका निवर्तमान वरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलकी पत्नी एवं संविधानसभा सदस्य कमरेड मीरा ध्वजु तथा झापा आन्दोलनका क्रममा लामो जेलजीवन बिताउनु भएका कमरेड घनेन्द्र बस्नेतको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।

उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माण 5. गत २०८३ भाद्र १० गते (२०२६ अगस्त २६) का दिन भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सिङ्गो राष्ट्र अझै शोकाकुल छ। बाढीमा परेर १४ सय भन्दा नागरिकको ज्यान गएको छ, ६ हजारभन्दा बढी अझै बेपत्ता हुनुहुन्छ र सयौं घाइते हुनुभएको छ। बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष प्रतिमा लामा तामाङ सहित विभिन्न जनप्रतिनिधिहरू, विभिन्न जलविद्युत आयोजनामा कार्यरत इञ्जिनियरहरू सहित सयौं प्राविधिक जनशक्ति, सयभन्दा बढी सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीहरू एवं सयौं विदेशी पर्यटकहरूको ज्यान लिएको छ। बाढीले भोटेकोशी-त्रिशुली करिडोरमा विकसित एउटा सभ्यता, जीवन्त अर्थतन्त्र, ४ सयभन्दा बढी मेगावाटको जडित विद्युत क्षमता, कैयौं निर्माणाधीन आयोजनाहरू र सीमापार व्यापारमा अपूरणीय क्षति पुऱ्याएको छ। नेकपा (एमाले) भोटेकोशी बाढीले निम्त्याएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ, ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ, वेपत्ताको यथार्थ अवस्था जानकारी गराउन ध्यानाकर्षण गर्दछ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ। 6. यस विनाशका पछाडि विकसित देशहरूले गएको २ सय वर्षदेखि गर्दै आएको अन्धाधुन्ध औद्योगीकरण, प्राकृतिक स्रोतको अनियन्त्रित दोहन र वातावरण विनास जिम्मेवार छ। जलवायु परिवर्तनले आज जलवायु सङ्कटको रूप लिँदैछ र त्यसको शिकार आज नेपाल जस्ता विकासशील राष्ट्र हुनु परेको छ। पेरिस सम्झौतामा व्यक्त प्रतिबद्धता विपरीत विश्वव्यापी तापमानले अहिल्यै १.५ डिग्री सेल्सियसको सीमा नाघ्न थालेको र पर्वतीय एवं टापु राष्ट्रहरूमाथि अस्तित्वको सङ्कट उत्पन्न भएको अवस्थाप्रति नेकपा (एमाले) चिन्तित छ। जलवायु सङ्कटको सामना र जलवायु न्यायको एजेण्डालाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्न पार्टी सङ्कल्पबद्ध छ। 7. यस राष्ट्रिय सङ्कटको सामना गर्ने विषयमा सरकारको भूमिका अव्यवस्थित र निष्प्रभावी मात्र होइन, कतिपय मामलामा गैरजिम्मेवार समेत देखियो। सरकार एक्लै अगाडि बढ्ने अहंकारी बाटोमा हिँड्यो। प्रदेश र स्थानीय सरकारको भूमिकालाई उपेक्षा गर्ने, राष्ट्रिय दलहरूसँगको समन्वय र सहकार्यलाई अस्वीकार गर्ने एवं पीडितहरूमा सान्त्वना र भरोसा जगाउने विषयमा सरकार चुक्यो। सुरुङमा फँसेका सयौं प्राविधिक जनशक्तिलाई उद्धार गर्ने मानवीय विषयमा विदेशी सहायता नलिने भनेर सुरूमा लिइएको गैरजिम्मेवार नीतिले उहाँहरूलाई जीवितै उद्धार गर्न सकिने संवेदनशील समय गुज्रेर गएको यो लापरबाही सामान्य होइन। एक्लै अगाडि बढ्ने अहम्, समन्वयविहीनता र अन्य पक्षको भूमिकालाई निषेध गर्ने सरकारको व्यवहारले उद्धार र राहत कार्य प्रभावित भएको कुराप्रति नेकपा (एमाले) आपत्ति व्यक्त गर्दछ। 8. जनतालाई विपत्ति परेको यस घडीमा अनेकौं कष्ट र दुःख सहेर राहत र उद्धारमा खट्नु भएका नेकपा (एमाले) सम्बद्ध जनसङ्गठन र पार्टीका स्वयंसेवकहरूको उच्च प्रशंसा गर्दछ। 9. नेपाललाई परेको यस महाविपत्तिको समयमा राहत, उद्धार र पुनर्निर्माणमा सहयोग गर्ने छिमेकी लगायत सबै मित्र राष्ट्रहरू र अन्य सङ्घसंस्था, व्यक्ति र नेपाली नागरिकहरूलाई नेकपा (एमाले) धन्यवाद ज्ञापन गर्दछ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल लगायत उद्धार र राहतका काममा अहोरात्र खटिने राष्ट्रसेवक कर्मचारीहरू, बागमती प्रदेश सरकार र स्थानीय तहहरूलाई उच्च प्रशंसा सहित धन्यवाद ज्ञापन गर्दछ। 10. बाढीबाट विस्थापित बालबालिका, गर्भवती र सुत्केरीहरू, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायतलाई केन्द्रबिन्दुमा राखेर तत्काल प्रभावकारी रूपमा पुनर्स्थापनाको काम थाल्न पार्टी माग गर्दछ। ध्वस्त भएका पुल र सडकहरूको तत्काल मर्मत संभार गर्दै रसुवा, नुवाकोटको त्रिशुली पारीको भूभाग र धादिङ सदरमुकामलाई जोड्ने यातायात सम्पर्क पुनः सञ्चालन गर्न माग गर्दछ। बस्तीहरूको वैज्ञानिक अध्ययनका आधारमा पुनर्निर्माणको काम तत्काल सुरू गर्न ध्यानाकर्षण गर्दछ

राष्ट्रियता, लोकतन्त्र र जनजीविका 11. नयाँ सरकार बनेको केही घण्टा बित्दानबित्दै पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई रातारात गरिएको घर घेराउ र गिरफ्तारी एवं लगाउन खोजिएको मुद्दा राजनीतिक प्रतिशोध र मुलुकलाई मुठभेडतिर लैजाने दूषित मनशायको पराकाष्टा थियो। यो बैठक सरकारको उक्त प्रतिशोधी कुकृत्य र त्यसको केही समयपछि पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई गरिएको दुराशययुक्त गिरफ्तारीको निन्दा र भर्त्सना गर्दछ। 12. स्वदेशी र विदेशी मिडियाहरूले सार्वजनिक गरिरहेका नयाँ तथ्यहरू, अन्तरिम सरकारका पदाधिकारी एवं कथित छानबिन आयोगका अध्यक्ष स्वयंले सार्वजनिक रूपमा व्यक्त गरेका अभिव्यक्तिहरूले भदौ २३/२४ को घटनाका पछाडि रहेका अनेकौं षडयन्त्रहरूको पर्दा खुलाउँदै लगेको छ। सरकार भने भदौ २४ को राज्य विध्वंशको छानबिनलाई पञ्छाउँदै लैजाने, त्यसमा सलग्नहरूलाई उन्मुक्ति दिने, भदौ २३ को घटनामा राजनीतिक नेतृत्व विरूद्ध दूषित मनशायका साथ अभियोजन गर्ने तर त्यस दिनको सुरक्षा कार्बाहीहरूको यथार्थलाई भने लुकाउने षडयन्त्र गरिरहेको छ। यो बैठक सरकारको यस षडयन्त्रपूर्ण क्रियाकलापको भर्त्सना गर्दछ र भदौ २३/२४ को घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न माग गर्दछ। छानबिनका लागि यस अघि गठित आयोगहरूका प्रतिवेदन अविलम्ब यथार्थ र पूर्ण पाठसहित सार्वजनिक गर्न माग गर्दछ। 13. यो सरकार गठन भए लगत्तै सुकुम्बासी बस्तीमा निर्ममतापूर्वक डोजर चलाउँदै गरिएको सुकुम्बासी विस्थापन नागरिकको मौलिक हक र मानवीयताका समेत विरूद्ध थियो। यस क्रममा ५ जना सुकुम्बासीहरूले आत्महत्या गर्ने अवस्था सिर्जना हुनु असाध्यै संवेदनशील विषय हो। यसका लागि सरकार जिम्मेवार छ भन्ने स्पष्ट छ। ५ महिनाभन्दा बढी समय बित्दा समेत विस्थापितहरूको व्यवस्थापन गर्न नसक्ने सरकारको यस गैरजिम्मेवार र जनविरोधी व्यवहारको यो बैठक विरोध गर्दछ। 14. सरकार गठन हुनासाथ नेपालको संविधानले प्रत्याभूत गरेको ट्रेड युनियन अधिकार, विद्यार्थीहरूले बलिदानी सङ्घर्षका बलमा पञ्चायत कालमै प्राप्त गरेको स्ववियु अधिकार लगायत मानव अधिकारहरूको जसरी कटौती गरिँदै छ, मिडियाहरूको स्वतन्त्रतालाई विभिन्न बहानामा नियन्त्रण गरिँदै छ, सरकारको आलोचना गर्ने नागरिकहरू, अभियन्ताहरू र बौद्धिक व्यक्तित्वहरूलाई जसरी गिरफ्तार गरेर अधिनायकवादी राज्य स्थापना गर्ने धृष्टता हुँदैछ, बैठक गंभीर आपत्ति व्यक्त गर्दछ। लोकतन्त्र तथा मानव अधिकारका पक्षमा अविचलित रूपमा लडिरहने सङ्कल्प गर्दछ। 15. संविधान संशोधनका नाममा एकपक्षीय र अनुत्तरदायी ‘कार्यदल’ गठन गरेर संविधानका आधारभूत संरचना नै भत्काउने सरकारी प्रयासप्रति पार्टी गंभीर छ। संविधान आफैमा गतिशील दस्ताबेज भएकाले आवश्यकता र औचित्यका आधारमा यो संशोधन हुन सक्छ र उपयुक्त समयमा संविधानका कतिपय प्रावधान संशोधन गर्नु पनि पर्छ भन्ने कुरामा पार्टी स्पष्ट छ। तर संविधानप्रति यस सरकारको कुनै स्पष्ट प्रतिबद्धता र निष्ठा नरहेको पृष्ठभूमिमा, सरकारले संशोधनको नाममा संविधानका आधारभूत स्तम्भलाई नै धक्का पुऱ्याउने नियत बोकेको स्पष्ट देख्न सकिन्छ। पार्टी संविधानको रक्षाका निम्ति दृढतापूर्वक उभिने सङ्कल्प गर्दछ। 16. आम नागरिकहरू यतिबेला खाना पकाउने ग्यासको हाहाकार, विकराल बन्दै गएको महङ्गी र अन्धाधुन्ध बढाइएको करबाट आक्रान्त छन्। बढ्दो आत्मदाह, आत्महत्या र वाह्य प्रवासनमा जाने युवाहरूको निरन्तर बढ्दो सङ्ख्याले समाजमा नैराश्य बढ्दै गएको स्पष्ट सङ्केत गर्दछ। व्यवसायीहरू इतिहासमै सबैभन्दा बढी मनोबल खस्किएको अवस्थामा छन्। लगानी झनै सङ्कुचित हुँदै गइरहेको छ। तर सरकार जनताका यी समस्याप्रति पूरै संवेदनहीन देखिएको छ। पार्टी जनताको यस पीडाप्रति सम अनुभूति व्यक्त गर्दछ। महङ्गी नियन्त्रण, खाना पकाउने ग्यासको सहज आपूर्ति र अन्धाधुन्ध बढाइएको कर फिर्ता लिन माग गर्दछ। गत वर्ष व्यवसायिक प्रतिष्ठानमाथि हमला र आगजनीमा सलग्न भएका दोषीहरूलाई अविलम्ब कार्बाहीको दायरामा ल्याउन, व्यवसायीहरूलाई त्रसित पार्ने क्रियाकलाप तत्काल बन्द गर्न र अनुकूल व्यवसायिक वातावरण निर्माण गर्न ध्यानाकर्षण गर्दछ। 17. गत वर्ष भदौका विध्वंश र त्यसपछि विकसित घटनाक्रमसँगै नेपालको राष्ट्रिय हित विरूद्धका गतिविधि बढेका छन्। छिमेकी मित्र राष्ट्रहरूका संवेदनशीलतामाथि आँच पुऱ्याउने कामले अविश्वास बढाइरहेको छ। संसदको मञ्चबाटै दिएको सीमा सम्बन्धी गैरजिम्मेवार, विवादास्पद र आत्मघाती अभिव्यक्तिलाई प्रधानमन्त्रीबाट अझै सच्याइएको छैन। गैरजिम्मेवार सरकार र बढ्दो भूराजनीतिक चलखेलले राष्ट्रिय हित, महत्वपूर्ण प्राकृतिक स्रोतको रक्षा र स्वाभिमानको संरक्षणको प्रश्न अझ संवेदनशील बनेको छ। पार्टी राष्ट्रियताप्रतिको यस जोखिमप्रति संवेदनशील र सतर्क छ। 18. यस्तो प्रतिकूल परिस्थितिमा राष्ट्रिय हितको रक्षा, लोकतन्त्र र संविधानको जगेर्ना एवं जनताका हितका प्रश्नमा सार्थक संवाद, सहकार्य र एकताका लागि नेकपा (एमाले) सबै देशभक्त, लोकतन्त्र र संविधानका पक्षधर राजनीतिक दल, नागरिकहरू एवं बौद्धिक समुदायमा आह्वान गर्दछ

प्रवासी नेपाली 19. रेमिट्यान्सका स्रोत मात्रै नभएर नेपालको लोकतन्त्र र राष्ट्र निर्माणका साझेदारका रूपमा रहेको प्रवासी नेपालीहरूको भूमिकालाई नेकपा (एमाले) सम्मान गर्दछ। नेपालको पुनर्निर्माणमा प्रवासी नेपालीहरूको थप भूमिका सुनिश्चित गर्न र मताधिकार, नागरिकता, लगानी र सम्मानित रोजगारी, सामाजिक सुरक्षा लगायत उहाँहरूका सरोकारलाई संबोधन गर्न पार्टी गंभीर रहेको विश्वास दिलाउँदै यसका लागि उहाँहरूसँग नियमित संवाद गर्दै समस्या समाधानमा सहजीकरण गर्ने सङ्कल्प गर्दछ

विशेष सङ्कल्प 20. केन्द्रीय कमिटीको तेस्रो बैठक पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न र पार्टी पुनर्जागरण एवं सुदृढीकरणका ठोस योजना निर्माण गर्ने सम्बन्धमा अत्यन्त महत्वपूर्ण रह्यो। बैठकमा हामीले विगतमा रहेका कमीहरूको गंभीर समीक्षा गरेका छौं, तिनलाई सच्याउँदै आगामी दिनमा नदोहोऱ्याउने प्रण गरेका छौं र सुधार तथा रूपान्तरणको मार्गचित्र तयार गरेका छौं। बैठकका निर्णयलाई गंभीरतापूर्वक बोध र निष्ठापूर्वक कार्यान्वयन गर्दै अगाडि बढ्न पार्टीका सबै नेता कार्यकर्तालाई आग्रह गर्दछौं। यस बिचमा देखा परेका कतिपय असमझदारी र अस्वस्थताहरू यस बैठकदेखि अन्त्य भएका छन् र पार्टी भावनात्मक रूपमा थप एकजुट भएको छ। बैठकको यस सन्देशलाई आत्मसात गर्दै लोकतन्त्रको रक्षा र निर्वाचनको तयारी सम्बन्धी पार्टीले तय गरेका प्रमुख कार्यभारमा केन्द्रित हुन यो बैठक समग्र पार्टी पङ्क्तिलाई आह्वान गर्दछ

विविध 21. बङ्गालको खाडीमा विकसित भइरहेको प्रणालीका कारण आगामी ३ दिनसम्म नेपालका विभिन्न भूभागमा ठुलो वर्षाको संभावना रहेको पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ र विभिन्न जिल्लाहरूलाई रेड अलर्टमा समेत राखिएको छ। यो बैठक सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन, मौसम पूर्वानुमान र सम्बद्ध निकायहरूले जारी गरेका सूचनाको परिपालना गर्न र अत्यावश्यक बाहेक यात्रामा ननिस्कन आग्रह गर्दछ।

22. यस बैठकको व्यवस्थापनमा सहयोग पुऱ्याउने सबै स्वयंसेवक, सुरक्षाकर्मी, सञ्चारकर्मीहरू र बैठकका लागि हल उपलब्ध गराउन रामबाग पार्टी प्यालेसलाई धन्यवाद ज्ञापन गर्दछ।