अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राज्यको उपस्थिति औपचारिक होइन, प्रभावकारी हुनुपर्छ: रास्वपा सचेतक धिताल

राज्यको उपस्थिति औपचारिक होइन, प्रभावकारी हुनुपर्छ: रास्वपा सचेतक धिताल


काठमाडौँ-सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले देशमा भइरहेका शृङ्खलाबद्ध घटनाका कारण न्यायको खोजी र पीडितका मुद्दा ओझेलमा पर्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले एउटा घटनाको पीडा सेलाउन नपाउँदै अर्को घटना सार्वजनिक हुने र त्यससँगै अघिल्लो घटनाका पीडितहरू बिस्तारै विस्मृतिमा पर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरिन्।

सांसद धितालले पछिल्लो समय भएका विभिन्न घटनाको स्मरण गराउँदै बजारमा आउने नयाँ ‘ट्रेन्ड’ सँगै न्यायका विषयसमेत प्रतिस्थापित हुने गरेको बताइन्। नागरिकका पीडामा राज्यले विभेद गर्न नहुने उल्लेख गर्दै उनले पीडितका मुद्दालाई निरन्तर प्राथमिकतामा राख्न आग्रह गरिन्।

‘देशमा एउटा दुःख आउँछ, केही दिन हामी चासो दिन्छौँ। तर अर्को घटना सार्वजनिक हुनासाथ अघिल्लो पीडा बिस्तारै ओझेलमा पर्छ। हामीलाई एक प्रकारले दुःखको लत लागेको छ,’ उनले भनिन्।

उनले जेनजी आन्दोलन, मधेसको साम्प्रदायिक दङ्गा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछिको हत्या तथा रसुवाको बाढीजस्ता घटनाको भीडमा सुकुमबासीका समस्या र बाढीमा बेपत्ता भएका बालबालिकाको खोजी कार्यसमेत ओझेलमा परेको उल्लेख गरिन्।

राज्यले अरूको दुःखमा केवल टेको लगाउने भूमिका मात्र नभई पीडितकै आधार बन्नुपर्ने बताउँदै उनले केही दिनको सहानुभूतिमा सीमित नहुन सरकारलाई आग्रह गरिन्। पीडितको जीवन सामान्य अवस्थामा नफर्कुञ्जेल राज्यले परिणाममुखी ढङ्गले साथ दिनुपर्ने उनको भनाइ थियो।

धितालले राज्यको उपस्थिति केवल औपचारिकतामा सीमित हुन नहुने उल्लेख गर्दै पीडितको जीवनमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउने गरी कार्यसम्पादन गर्न सरकारसँग माग गरिन्।