अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिपक्षलाई पूरक होइन, बाधकको रूपमा हेरियो: रामबहादुर थापा

प्रतिपक्षलाई पूरक होइन, बाधकको रूपमा हेरियो: रामबहादुर थापा


काठमाडौं-नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सरकार गठन भएको छ महिनाको अवधिमा प्रतिनिधिसभा सत्तापक्षको प्रतिछाया मात्र बनेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले सत्तापक्षले प्रतिपक्षलाई लोकतान्त्रिक प्रक्रियाको पूरक शक्तिका रूपमा नभई बाधकका रूपमा व्यवहार गरेको बताए।

‘सत्तापक्षले प्रतिपक्षलाई पूरक होइन, बाधक ठान्यो। विधेयकमा कमा र वाक्यांशसम्म थप्न, संशोधन गर्न पनि मानेन। विधि निर्माणलाई उसले आफ्नो एकाधिकार ठान्यो,’ उनले भने, ‘यो छ महिनाको अधिकांश समय सत्तापक्षको ढ्यापढ्याप सुन्यौँ, प्रतिपक्षको आक्रोश देख्यौँ। तर पछिल्लो समय सत्तापक्षमा केही आशाको किरण देखिन थालेको छ।’

थापाले विश्व अहिले कृत्रिम बुद्धिमत्ता (एआई) र एल्गोरिदमको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै विश्व शक्ति सन्तुलनमा परिवर्तन भइरहेको बताए। उनका अनुसार पुरानो विश्व व्यवस्थाको केन्द्र पश्चिमबाट पूर्वतर्फ सर्दै गएको छ र नयाँ नेतृत्वतर्फ ‘रुल सेटिङ’ हस्तान्तरण हुने प्रक्रियामा विश्व अघि बढिरहेको छ।

‘पुरानो संरचना तथा आधार भत्किँदै गएको छ। नयाँ पूर्ण रूपमा निर्माण भइसकेको छैन,’ उनले भने।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक र सांस्कृतिक घटनाक्रमको अध्ययन गर्दा नयाँ विश्व व्यवस्थातर्फ जाने दुई फरक मार्गचित्र देखिएको उनको भनाइ थियो।

उनले नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप, राज्य आतङ्क, लोकतान्त्रिक शक्तिमाथि दमन, न्यायपालिका तथा व्यवस्थापिकामाथिको हस्तक्षेप र स्रोतहरूमाथिको कब्जामार्फत केही शक्तिहरूले आफ्नो अनुकूल विश्व व्यवस्था निर्माण गर्न प्रयास गरिरहेको दाबी गरे।

थापाले गत वर्ष भदौ २३ र २४ गते भएका घटनालाई ‘देश दहन, नागरिक सरकार तथा संसद् विघटन’सँग जोड्दै त्यसलाई नयाँ विश्व व्यवस्था पुनर्गठनको नेपाल संस्करणको रूपमा व्याख्या गरे।

‘हामीले त्यो असंवैधानिक सत्ता परिवर्तनको तत्काल प्रतिवाद गरेका थियौँ। देश दहन गर्ने दोषीहरूमाथि कारबाहीको माग गरेका थियौँ। विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ,’ उनले भने, ‘हाम्रो राजनीतिक अडान पुनः स्पष्ट गर्न चाहन्छु।’

उनले फागुनमा सम्पन्न निर्वाचनलाई भदौ २३–२४ का घटनाक्रमको ‘बाइप्रडक्ट’को रूपमा व्याख्या गर्दै पनि आफ्नो पार्टीले निर्वाचन परिणाम स्वीकार गरिसकेको बताए।

‘पराजयको स्वीकारोक्ति आत्मसमर्पण कदापि होइन। हामीले यसलाई गम्भीर शिक्षा तथा भावी विजयका लागि सुनौलो अवसरका रूपमा आत्मसात् गरेका छौँ,’ उनले भने।