अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमककी उपप्रमुख भट्टराईलाई कांग्रेस केन्द्रीय सदस्यका लागि अघि बढाउने तयारी

दमककी उपप्रमुख भट्टराईलाई कांग्रेस केन्द्रीय सदस्यका लागि अघि बढाउने तयारी


काठमाडौं-नेपाली कांग्रेसकी नेतृ तथा झापा दमक नगरपालिकाकी उपप्रमुख रेणुका भट्टराईलाई पार्टीको केन्द्रीय सदस्यका रूपमा अघि बढाउने तयारी गरिएको छ।

नेपाली विद्यार्थी संघको विद्यालय तहको समितिबाट राजनीतिक यात्रा सुरु गरेकी भट्टराई हाल नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिकी सदस्य तथा कार्यसम्पादन समिति सदस्य छिन्। पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएकी उनलाई अब केन्द्रीय तहमा रहेर काम गर्ने अवसर दिनुपर्ने धारणा कांग्रेसका कार्यकर्ताहरूले राखेका छन्।

हालै सम्पन्न कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट लोकप्रिय मतसहित निर्वाचित भएपछि भट्टराईप्रति पार्टीभित्रको चासो थप बढेको बताइएको छ। अध्ययनशील, सक्रिय जनप्रतिनिधि तथा संगठनभित्र निरन्तर जिम्मेवारी निर्वाह गर्दै आएकी नेतृका रूपमा उनलाई केन्द्रीय नेतृत्वमा लैजानुपर्ने कार्यकर्ताहरूको धारणा छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगरसमेत रहेको दमक नगरपालिकामा कांग्रेसबाट पहिलोपटक उपप्रमुख निर्वाचित भएपछि भट्टराईको राजनीतिक पहिचान स्थानीय तहभन्दा बाहिरसमेत विस्तार भएको बताइन्छ। उपप्रमुखको जिम्मेवारी सम्हाल्दै उनले स्थानीय सरकार सञ्चालन, जनसरोकारका विषय तथा नगरपालिकाका विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्।

उच्च शिक्षालाई निरन्तरता दिँदै भट्टराई हाल पीएचडी अध्ययनरत रहेको बताइएको छ। स्थानीय तहको जनप्रतिनिधिको जिम्मेवारीसँगै पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै प्रदेश तहको राजनीतिक जिम्मेवारीसमेत सम्हाल्दै आएकी छन्।

पार्टीका यसअघिका अधिवेशनहरूमा समेत लोकप्रिय मतसहित निर्वाचित हुँदै आएकी भट्टराईलाई महिला नेतृत्वको प्रतिनिधित्व बलियो बनाउन सक्ने नेतृका रूपमा कार्यकर्ताहरूले अघि सारेका छन्। स्थानीय तहको जनप्रतिनिधिका रूपमा प्राप्त अनुभव, पार्टी संगठनमा सक्रिय भूमिका र प्रदेश तहको राजनीतिक अनुभवलाई आधार बनाएर उनलाई केन्द्रीय नेतृत्वमा लैजानुपर्ने उनीहरूको धारणा छ।

भट्टराईले पनि पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको बताउँदै अवसर पाए केन्द्रीय समितिमा रहेर काम गर्ने इच्छा व्यक्त गरेकी छन्।

‘पार्टीले अहिलेसम्म दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै आएकी छु। प्रदेश समितिमा रहेर काम गर्ने अनुभव पनि प्राप्त भएको छ। अवसर पाए अब केन्द्रीय समितिमा रहेर पार्टीका लागि काम गर्ने इच्छा छ,’ उनले भनिन्।

पार्टी संगठन विस्तार, महिला सहभागिता, स्थानीय तहको जनप्रतिनिधिका रूपमा प्राप्त अनुभव तथा प्रदेश तहको राजनीतिक भूमिकालाई आधार बनाएर कांग्रेसका कार्यकर्ताहरूले भट्टराईलाई केन्द्रीय सदस्यका रूपमा अघि बढाउने तयारी गरेको बताइएको छ।