काठमाडौं-झापा आन्दोलनका अगुवा, नेपाली कम्युनिस्ट आन्दोलनका नेता तथा वाम साहित्यकार घनेन्द्रबहादुर बस्नेतको निधन भएको छ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित बस्नेतको भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार साँझ करिब पौने ८ बजे निधन भएको संखुवासभाका पूर्वसांसद तथा नेकपा (एमाले) का नेता राजेन्द्र गौतमले जानकारी दिए।
गौतमका अनुसार बस्नेतको स्वास्थ्य अवस्था बुझ्न बुधबार दिउँसो एमाले केन्द्रीय सचिव राजन भट्टराई, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल, केन्द्रीय सदस्य राजेन्द्र गौतम तथा सूर्य थापा अस्पताल पुगेका थिए। उनीहरूले बस्नेतको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारका क्रममा आवश्यक ध्यान दिन अस्पताल प्रशासनको समेत ध्यानाकर्षण गराएका थिए।
तर, बुधबार दिउँसो अस्पतालमा भएको उक्त भेट नै बस्नेतसँगको अन्तिम भेट बन्न पुग्यो। उनको निधनप्रति एमालेका नेता तथा कार्यकर्ताले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् भने परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
वि.सं. २००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए। पञ्चायती निरङ्कुशताविरुद्धको आन्दोलन र राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए।
झापा आन्दोलन हुँदै नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका बस्नेत वाम साहित्यकारका रूपमा समेत परिचित थिए। तत्कालीन नेकपा (एमाले) हुँदै पछिल्लो समय पनि वामपन्थी आन्दोलनमा सक्रिय रहेका उनी पूर्वसांसदसमेत थिए।
जीवनभर सादा जीवन, निष्ठा र इमानको राजनीतिमा अडिग रहेका बस्नेतले प्रतिकूल परिस्थितिका बीच नेपाली कम्युनिस्ट आन्दोलन, सामाजिक रूपान्तरण तथा वाम साहित्यको क्षेत्रमा योगदान पुर्याएका थिए। उनको निधनले नेपाली कम्युनिस्ट आन्दोलन तथा वाम साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको एमाले नेताहरूले बताएका छन्।
बस्नेतको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, सहकर्मी तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै उनलाई त्याग, संघर्ष र निष्ठाको राजनीतिका एक सच्चा अभिभावकका रूपमा स्मरण गरेका छन्।



प्रतिक्रिया