अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुरानालाई गाली गरेर लाइक र भ्युज बटुल्ने प्रवृत्तिले देश बन्दैन: नीता घतानी

पुरानालाई गाली गरेर लाइक र भ्युज बटुल्ने प्रवृत्तिले देश बन्दैन: नीता घतानी


काठमाडौं-नेकपा (एमाले)की सांसद नीता घतानीले वर्तमान सरकार कामभन्दा बढी स्टन्ट र भ्रमको खेतीमा केन्द्रित रहेको आरोप लगाएकी छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको चुच्चे नक्सामार्फत देखाएको राष्ट्रिय अडान र वर्तमान नेतृत्वबाट आएका राष्ट्रहित प्रतिकूल अभिव्यक्तिबीच तुलना गर्दै सरकारको कार्यक्षमता र नियतमाथि गम्भीर प्रश्न उठाइन्।

सांसद घतानीले बजारमा खाना पकाउने ग्यासको अभाव, स्वास्थ्य बीमा कार्यक्रमको उपेक्षा तथा बाढीपहिरोजस्ता विपद्का बेला सरकारको उपस्थिति अत्यन्त कमजोर देखिएको आरोप लगाइन्। उनले चुनावका बेला ठूला आश्वासन दिनेहरू सत्तामा पुगेपछि नागरिकका समस्याप्रति मौन बसेको टिप्पणी गरिन्।

पछिल्लो समय राजनीतिमा पुरानो पुस्तालाई अयोग्य सावित गर्ने गरी निर्माण गरिएको भाष्यप्रति असन्तुष्टि व्यक्त गर्दै उनले देशको विकास र लोकतन्त्र स्थापनामा अग्रज नेताहरूको योगदानलाई बिर्सन नहुने बताइन्।

उनले ३५ वर्षको अवधिमा मुलुकले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरू पञ्चायत र राजतन्त्रविरुद्ध निरन्तर संघर्ष गर्ने पुराना नेताहरूको योगदानबाट सम्भव भएको उल्लेख गरिन्।

‘देशमा ३५ प्रतिशत रहेको साक्षरतालाई ८० प्रतिशत पुर्‍याउने, सडक, खानेपानी र स्वास्थ्य पूर्वाधार निर्माण गर्ने तथा नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने काम तिनै पुराना नेताहरूबाट भएको हो,’ उनले भनिन्, ‘पुरानालाई गाली गरेर भ्युज र लाइक बटुल्ने प्रवृत्तिले देशलाई फाइदा गर्दैन।’

घतानीले बाढीपहिरोका बेला सरकारले प्रभावकारी उद्धार र राहतमा ध्यान दिन नसकेको आरोप लगाउँदै राज्यको स्रोतसाधनको दुरुपयोग भएको दाबी गरिन्। ‘बाढीपहिरोका बेला हेलिकोप्टर उडाएर राज्यको ढुकुटी सिध्याउने काम गरियो, तर वास्तविक पीडितको उद्धारमा सरकार पूर्ण रूपमा चुकेको छ,’ उनले भनिन्।

उनले जनताका दैनिक समस्याको समाधानभन्दा प्रचारमुखी गतिविधिमा सरकार बढी केन्द्रित भएको आरोप लगाउँदै सुशासन, सेवा प्रवाह र राष्ट्रिय हितका सवालमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याइन्।