अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साउदी अरबमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु भएपछि एमालेद्वारा दुःख व्यक्त

साउदी अरबमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु भएपछि एमालेद्वारा दुःख व्यक्त

वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षामा गम्भीर बन्न सरकारलाई आग्रह


काठमाडौं-साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले)ले दुःख व्यक्त गरेको छ।

एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले विज्ञप्ति जारी गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन्।

विज्ञप्तिमा निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवता र मानवीय मूल्य-मान्यताविपरीत भएको उल्लेख छ। एमालेले विश्व शान्तिको पक्षमा रहेको जनाउँदै यस्ता अमानवीय घटनाको निन्दा र भर्त्सना गरेको छ।

नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्तै दुःखद र चिन्ताजनक रहेको एमालेको भनाइ छ। रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपाली नागरिकसमेत द्वन्द्वको जोखिममा पर्नु गम्भीर चिन्ताको विषय भएको पार्टीले जनाएको छ।

यसैबीच, एमालेले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको सुरक्षा र हित सुनिश्चित गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। विदेशमा कार्यरत नेपालीको जीवनरक्षा र सुरक्षाका लागि आवश्यक पहल गर्नसमेत पार्टीले सरकारलाई आग्रह गरेको छ।