अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको कार्यशैली नसच्चिए लोकतन्त्र रक्षाका लागि आन्दोलन गर्छौँ: महामन्त्री पौडेल

सरकारको कार्यशैली नसच्चिए लोकतन्त्र रक्षाका लागि आन्दोलन गर्छौँ: महामन्त्री पौडेल


जनकपुर-नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै अन्य राजनीतिक दलमाथि हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन्। उनले सरकारको वर्तमान कार्यशैली नसच्चिए लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री पौडेलले वर्तमान सरकारको कार्यशैली विगतका सरकारभन्दा फरक नरहेको टिप्पणी गरे। पुराना पार्टीका पुराना नेताहरूजस्तै अहिलेको सरकार पनि सत्ता र शक्तिको दुरुपयोगमा केन्द्रित भएको उनको आरोप थियो।

उनले सरकारले आफ्नै पार्टी मात्र नभई अन्य दलभित्र पनि कसलाई सभापति बनाउने, कसको पार्टी फुटाउने र कसलाई के आरोप लगाउने भन्ने गतिविधिमा चासो देखाएको बताए । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेसभित्र हस्तक्षेप गर्न खोजेको भन्दै उनले प्रश्न उठाए।

‘रास्वपाले कांग्रेसभित्र किन हस्तक्षेप गर्नुपर्‍यो ?’ भन्दै पौडेलले सरकारको नेतृत्व गर्ने दल आफ्नै पार्टीभित्र प्रश्न उठाउनेहरूलाई कमजोर बनाउने प्रयासमा लागेको आरोप लगाए। सरकारको गतिविधिले देशमा गुटबन्दीको राजनीति सुरु गर्न खोजिएको आभास भएको उनको भनाइ थियो।

विगतमा राज्यसत्ता कब्जा गरेर शासन गर्न खोजिएजस्तै अहिले पनि त्यस्तै प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले पहिलेको सरकार र अहिलेको सरकारको कार्यशैलीमा खासै भिन्नता नरहेको बताए। सरकारसँग उठेका प्रश्नको सामना गर्ने क्षमता नभएको र उसका गतिविधिले नेपालको लोकतान्त्रिक व्यवस्था नै कमजोर बनाउने जोखिम रहेको उनले टिप्पणी गरे।

दुई तिहाइ बहुमत प्राप्त सरकारले जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा उल्टै नागरिकका आवाज र असहमतिलाई नियन्त्रण गर्न खोजेको पौडेलको आरोप थियो। कांग्रेस प्रश्न गर्ने पार्टी भएकाले उसलाई प्रश्न उठाउन नदिने उद्देश्यले सरकारले विभिन्न प्रपञ्च गरिरहेको उनको भनाइ थियो।

पौडेलले आगामी चैतमा हुने भनिएको स्थानीय तहको निर्वाचनबारे समेत संशय व्यक्त गरे। सरकारले निर्वाचनको तयारी र प्रतिबद्धताबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनको माग थियो। निर्धारित समयमा निर्वाचन हुन नसके स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने अवस्था स्वीकार्य नहुने उनले बताए।

स्थानीय तहको निर्वाचन दलीय प्रतिस्पर्धाबिना स्वतन्त्र उम्मेदवारबीच मात्रै गराउने सोच सरकारको भए त्यसका लागि संविधान संशोधन आवश्यक पर्ने पौडेलले उल्लेख गरे। तर, निर्वाचन प्रणाली परिवर्तन गर्ने विषयमा सरकारले कुनै ठोस गृहकार्य नगरेको उनको आरोप थियो।

‘सरकारले स्थानीय तहको निर्वाचन प्रणाली परिवर्तन गर्न कुनै ठोस गृहकार्य गरेको देखिँदैन । बरु आगामी चैतमा निर्वाचन हुन्छ वा हुँदैन भन्ने विषयमै अन्योल सिर्जना भएको छ,’ उनले भने, ‘तोकिएको समयमा निर्वाचन गराएर स्थानीय तहलाई जनप्रतिनिधिविहीन हुन नदिनु अहिलेको प्रमुख विषय हो।’

उनले कांग्रेस तत्काल सडक आन्दोलनमा जाने पक्षमा नरहेको स्पष्ट पार्दै सरकारलाई सचेत गराउने र शान्तिपूर्ण तथा विधिसम्मत ढङ्गले आफ्ना प्रश्न राख्ने पक्षमा रहेको बताए। तर, सरकारको हठ र अलोकतान्त्रिक व्यवहार जारी रहे लोकतन्त्रको रक्षाका लागि आन्दोलन गर्न कांग्रेस पछि नहट्ने उनको चेतावनी थियो।

‘लोकतान्त्रिक व्यवस्था नै सङ्कटमा पर्ने अवस्था आएमा त्यसको रक्षाका लागि आन्दोलन र अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्ने छैन,’ पौडेलले भने।

विधिको शासन र कानुनी राज्य कायम रहेसम्म निर्दोष व्यक्तिलाई दोषी बनाउन नसकिने उल्लेख गर्दै उनले सरकार नागरिकका आवाज सुन्न र असहमतिलाई सम्मान गर्न तयार हुनुपर्ने बताए ।

सरकारले आफ्नो कार्यशैली सच्याएर सही बाटोमा आउने विश्वास अझै कायम रहेको बताउँदै पौडेलले त्यसो नभए लोकतन्त्रको रक्षाका लागि अन्य राजनीतिक शक्तिसँग सहकार्य गरेर सङ्घर्षमा उत्रिने चेतावनी दिए ।