अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नाका खुकुलो भएसँगै आवतजावतमा सहज

नाका खुकुलो भएसँगै आवतजावतमा सहज

appharu
0
Shares

झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो ।

नाकाबाट ठूला सवारी साधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौं नेपाली भारतीय सीमावर्ती बजार पानीट्याङ्की, नक्सलबाडी, सिलगुढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरीदका लागि जाने र नेपालतर्फ आउने क्रम बढेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले अझै पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले सरकारले लागू गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गराएर मात्रै नाकाबाट आवतजावत भइरहेको बताए ।

उनले उपचारका लागि भारतका विभिन्न स्थानमा जाने वृद्धवृद्धा, अशक्तहरुलाई पालो मिलाएर सिटीरिक्सामा पठाउने गरिएको स्वीकार गरे । ‘मानवीय कारणले उपचारमा जानेलाई केही सहज बनाइएको छ’, उनले भने, ‘तर अन्यको हकमा भने पुरानौ अवस्था छ । खुकुलो बनाइएको छैन ।’

उनले नेपालका अन्य सीमा नाका खुले पनि पूर्वी नाका खुलाउने बारेमा केन्द्रबाट कुनै निर्देशन नआएको बताए । भारतबाट आएका व्यक्तिले ७२ घण्टाभित्रको पिसीआर रिपोर्ट तथा तेस्रो मुलुकबाट आएकाले राहदानी देखाएर नेपाल प्रवेश गरिरहेको जानकारी दिए ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखि भारतसँग जोडिएका सीमा नाकाहरु बन्द गरेको थियो ।