अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुराना भारतीय लगानीको अभिलेखीकरण सहज बनाए नयाँ एफडिआई भित्र्याउन सकिन्छ: चन्द्र ढकाल

पुराना भारतीय लगानीको अभिलेखीकरण सहज बनाए नयाँ एफडिआई भित्र्याउन सकिन्छ: चन्द्र ढकाल


काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा रहेका पुराना विदेशी लगानी, विशेषगरी भारतीय लगानीको अभिलेखीकरणसम्बन्धी समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।

२०४६ सालको आर्थिक उदारीकरणपछि नेपालमा भित्रिएका विदेशी लगानीको उचित अभिलेखीकरण नहुँदा लगानीकर्ताले विभिन्न समस्या भोग्नुपरेको भन्दै उनले एकपटकका लागि अभिलेखीकरणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

१२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको मूल समारोहमा बोल्दै ढकालले पुराना लगानीको अभिलेखीकरण नहुँदा व्यवसाय विस्तार, थप पुँजी भित्र्याउन, लगानीको प्रतिफल लैजान र व्यवसायबाट बाहिरिनसमेत कठिनाइ भइरहेको बताए।

उनले उद्योग प्रवर्द्धन बोर्डमार्फत एकपटकका लागि पुराना विदेशी लगानीको अभिलेखीकरण गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।

‘एकपटकका लागि यस्ता पुराना लगानीको अभिलेखीकरणको गाँठो फुकाइदिने हो भने नेपालमा काम गरिरहेका लगानीकर्ताबाट सकारात्मक सन्देश जानेछ। यसले नयाँ वैदेशिक लगानी (एफडिआई) भित्र्याउन ठूलो मद्दत पुग्नेछ,’ उनले भने।

ढकालले नयाँ सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकता दिएको भन्दै प्रशंसासमेत गरे । सम्मानित व्यक्तित्वहरूको तर्फबाट मन्तव्य राख्दै उनले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति’ पारित हुनु सकारात्मक कदम भएको बताए।

निजी क्षेत्र रोजगारी सिर्जना, राजस्व सङ्कलन र पूर्वाधार निर्माणको मुख्य आधार भएको उल्लेख गर्दै उनले सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको वास्तविक संवाहकका रूपमा स्वीकार गरेको बताए।

पूर्वाधार सम्मेलनको तयारीका क्रममा ५९ वटाभन्दा बढी कानुन संशोधन गर्ने सरकारको कदम सराहनीय रहेको उनको भनाइ थियो। अब संशोधित कानुन तथा नीतिगत व्यवस्थाको मर्मअनुसार तल्लो तहसम्म प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए।

त्यसैगरी, उद्योग मन्त्रालय र उद्योग विभागले सेवा प्रवाहमा गरेको सहजीकरण तथा डिजिटलाइजेशनको प्रशंसा गर्दै ढकालले निजी क्षेत्रमैत्री नीतिगत सुधारले थप गति लिने विश्वास व्यक्त गरे।

‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, निजी क्षेत्रका छाता सङ्गठनका प्रमुख तथा उद्योगी व्यवसायीहरूको उपस्थिति थियो। सोही अवसरमा ढकाललाई सम्मानसमेत गरिएको थियो।