गोरखा-गोरखा-आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका-१३, पाँचकिलोमा बुधबार बिहान बस र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन्।
गोरखाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख २६१५ नम्बरको ट्रक बिहान करिब ११ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र तीन जनाको सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा बसचालक पोखरा महानगरपालिका–३२ का ४० वर्षीय डोलबहादुर विक, ट्रकचालक चितवनको भरतपुर महानगरपालिका–२९, जुगेडीका ३२ वर्षीय शमिर गुरुङ र ट्रकका सहचालक ३० वर्षीय निशान गुरुङ रहेका छन्।
अन्य घाइतेमा गोरखा नगरपालिका–१, नयाँबजारका ३३ वर्षीय धनराज सुनार र आठ वर्षीय विजय सुनार, वडा नं. १२ का ३१ वर्षीया सुजता कुमाल र सात वर्षीया सिया कुमाल, वडा नं. ९, नयाँबजारकी २४ वर्षीया सुस्मिता सुनार तथा वडा नं. ६ का २६ वर्षीया तिजमाया घले, ६० वर्षीया कान्छी घले, ५० वर्षीय सेते गुरुङ, ६० वर्षीया सेसरी गुरुङ र चार वर्षीय साहिन खत्री छन्।
त्यस्तै, तनहुँको भानु नगरपालिका–२, आँबोटेका ७७ वर्षीय तीर्थराज ढकाल, गोरखाको सिरानचोक गाउँपालिकाकी ४० वर्षीया मिनु गुरुङ तथा धार्चे गाउँपालिका–६ का ३२ वर्षीय सुनिल घले र चार वर्षीय इरोस घले घाइते भएका छन्।
दुर्घटनापछि केही समय सडकमा दुईतर्फी यातायात अवरुद्ध भएको थियो। अहिले एकतर्फी रूपमा यातायात सञ्चालनमा आएको डीएसपी श्रेष्ठले जानकारी दिए।



प्रतिक्रिया