अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा र सन्धिका विषय उठेनन्: शंकर पोखरेल

प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा र सन्धिका विषय उठेनन्: शंकर पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्त्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको बताएका छन्। 

प्रेस चौतारी नेपाल दाङले मंगलबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हवाई रुटसम्बन्धी सहमति हुनु सकारात्मक भए पनि नेपालको सीमा समस्या, सन् १९५० को सन्धि पुनरावलोकन, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायत विषयमा छलफल हुन नसकेको टिप्पणी गरे।

विगतमा विदेशी ऋण लिनु हुँदैन भन्ने मान्यता राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले अहिले भारतबाट प्राप्त ऋणलाई उपलब्धिका रूपमा प्रस्तुत गर्नुले उसको पुरानो मान्यतामा परिवर्तन आएको देखिएको महासचिव पोखरेलको भनाइ छ। 

महासचिव पोखरेलले विदेशी ऋण नेपालको विकासका लागि आवश्यक रहेको कुरा अहिलेको सरकारले समेत स्वीकार गरेको बताए। 

‘विगतमा लोकतन्त्रका लागि लडेका दललाई जुन आक्षेप लगाइएको थियो, त्यो कति मिथ्या रहेछ भन्ने कुराको पुष्टि भएको छ’, पाखरेलले भने, ‘विदेशीको ऋण लिनुपर्ने रहेछ भन्ने कुरा स्वयं प्रधानमन्त्रीले स्वीकार गर्नुभएछ र भारतबाट प्राप्त ऋणलाई प्रमुख उपलब्धि भन्दै गर्व गर्नुभएको छ।’

भारतको एक्जिम बैङ्कबाट प्राप्त ऋण कार्यान्वयनमा देखिएका जटिलता र त्यसबाट सडक निर्माणमा भइरहेको ढिलाइले ऋण परिचालनको व्यवहारिक कठिनाइसमेत पुष्टि गरेको महासचिव पोखरेलको भनाइ छ। 

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको हवाई रुटसम्बन्धी सहमतिलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै महासचिव पोखरेलले त्यसको कार्यान्वयनमा भने आशङ्का व्यक्त गरेका छन् । ‘एयर रुटको सहमति सकारात्मक भएको छ। तर कार्यान्वयन प्रमुख कुरा हो । पञ्चायतमा पनि यस्तो सहमति भएको थियो, तर कार्यान्वयनमा आएन’, महासचिव पोखरेलको भनाइ छ। 

प्रधानमन्त्रीले काठमाडौँ महानगरपालिकामा ग्रेटर नेपालको नक्सा राखेर बस्नुभएको सन्दर्भ उल्लेख गर्दै भारत भ्रमणका क्रममा सीमा र ऐतिहासिक सन्धिसम्बन्धी विषय उठाउने अपेक्षा आफूले लिएको पोखरेलको भनाइ छ। 

‘ग्रेटर नेपालको नक्सा काठमाडौँ महानगरपालिकामा टाँसेर बस्ने प्रधानमन्त्रीले नेपाल-भारत सीमाका बारेमा छलफल गर्नुहोला भन्ने लागेको थियो। कम्तीमा सुगौली सन्धिपछिका विषयमा छलफल हुनुपथ्र्यो । तर त्यो छलफलको विषय नै बनेन’, पोखरेलको भनाइ छ। 

उहाँले सन् १९५० को नेपाल-भारत सन्धिको विषयमा समेत प्रधानमन्त्रीले प्रवेश गर्न नसकेको टिप्पणी गर्दै नेपाली चिया, अलैँची तथा तरकारी भारतीय बजारमा सहज रूपमा प्रवेश गर्न नसकिरहेको समस्यालाई भ्रमणको एजेण्डामा समेट्न नसकिएको बताए । 

महासचिव पोखरेलले वर्तमान सरकार गठन हुँदा नागरिकले सुशासन र विकासको अपेक्षासहित मतदान गरेको भए पनि ती अपेक्षा पूरा हुन नसकेको पनि बताए। 

सरकारले विगतमा ‘नो लाइन’को नारा दिए पनि अहिले सरकारी सेवा प्रवाहमा झन् अव्यवस्था देखिएको टिप्पणी गर्दै सुशासन र विकासका लागि नागरिकले मतदान गरेपनि अहिले विगतको भन्दा भद्रगोल भएको पाखरेलको भनाइ छ।

महासचिव पोखरेलले सरकारका कामकारबाहीप्रति जनतामा निराशा बढ्दै गएको उल्लेख गर्दै त्यसले समाजमा असन्तुष्टि र अराजकता निम्त्याउन सक्ने चेतावनी दिए। ‘यसले जनतामा निराशा बढाउँदै छ । यसले फेरि समाजमा अराजकता जन्माउँछ र बङ्गलादेशको जस्तो अवस्था आउँछ’, पोखरेलको भनाइ छ।

स्थानीय तहलाई कमजोर बनाउने दिशामा सरकार अघि बढेको भन्दै पोखरेलले एमाले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने पक्षमा रहेको स्पष्ट पारे।

स्थानीय तहको म्याद वैशाखमा र प्रदेश सभाको समय मङ्सिरसम्म रहेकोले दुवै निर्वाचन एकै साथ हुन नसक्ने पाखरेलले बताए। ‘स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने कुरा मान्य हुँदैन । स्थानीय तह र प्रदेशको निर्वाचन लोकतन्त्रको सुदृढीकरणमा अति महत्त्वपूर्ण छ’, पोखरेलको  भनाइ छ। 

स्थानीय तह र प्रदेशसभाको निर्वाचनले राष्ट्रिय सभाको गठन तथा राष्ट्रपतिको निर्वाचन प्रक्रियासँग समेत सम्बन्ध राख्ने भएकाले निर्वाचन समयमा हुन नसके लोकतान्त्रिक प्रक्रियामै असर पर्न सक्ने उनको भनाइ थियो ।

उनले संविधान समय र आवश्यकताअनुसार परिवर्तन गर्न सकिने भए पनि संघीय लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाउने गरी संशोधन गर्न नहुनेमा जोड दिदै संसद् र राजनीतिक दलहरूलाई बेवास्ता गरेर अघि बढ्ने प्रधानमन्त्रीको कार्यशैली लोकतान्त्रिक हुन नसक्ने धारणा राखे।