अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

३२ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

३२ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौँ-सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका ३२ जना सहसचिव वा सो सरहका कर्मचारीको सरुवा तथा कामकाजको जिम्मेवारी हेरफेर गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विभिन्न मन्त्रालय, प्रदेश, संवैधानिक निकाय तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी परिवर्तन गरिएको हो।

सरकारको निर्णयअनुसार वीरगञ्ज महानगरपालिका र हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत फेरिएका छन्। अर्थ मन्त्रालयमा कार्यरत सहसचिव निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। यसअघि उक्त जिम्मेवारीमा रहेका बसन्तबहादुर बोहरालाई भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै, सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रविलाल शर्मालाई हेटौँडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ। हेटौँडामा कार्यरत टेकबहादुर वलीलाई भने अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

यसैगरी गृह मन्त्रालय तथा संवैधानिक निकायहरूमा समेत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ। गृह मन्त्रालयका मदन कोइराला र कोशी प्रदेशका प्रदेश सचिव अस्मान तामाङलाई राष्ट्रपति कार्यालयमा पठाइएको छ। गृह मन्त्रालयकी सहसचिव स्किम श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।

गृह मन्त्रालयबाट विनु बज्राचार्य कुँवरलाई सूचना तथा सञ्चार मन्त्रालय, प्रदीपकुमार कोइरालालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह र इन्द्रदेव यादवलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका प्रदेश सचिवहरू क्रमशः वीरेन्द्रकुमार मिश्र, गीता कुमारी होमेगाईं र विमलप्रसाद बरालसहित दीपक लामिछाने, तुलसीराम भट्टराई र शिवप्रसाद रेग्मीलाई गृह मन्त्रालय वा अन्तर्गतका निकायमा जिम्मेवारी दिइएको छ।

यसैगरी पार्वती अर्याल, तारानाथ अधिकारी र कोशी प्रदेशकी प्रदेश सचिव नीता शर्मालाई अर्थ मन्त्रालय वा अन्तर्गतका निकायमा सरुवा गरिएको छ। सहसचिव ज्ञानराज सुवेदीलाई राष्ट्रिय योजना आयोगको सचिवालय, ऊर्जा मन्त्रालयका गोकर्णराज पन्थलाई लगानी बोर्डको कार्यालय र उद्योग मन्त्रालयकी कुमारी ज्योति जोशीलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सरुवा गरिएको छ।

सरकारले पूर्वाधार, कृषि तथा प्रदेशका विभिन्न मन्त्रालय र सरकारी निकायहरूमा समेत सहसचिवहरूको कार्यक्षेत्र हेरफेर गर्दै नयाँ जिम्मेवारी तोकेको छ। मन्त्रिपरिषद्को यस निर्णयबाट सङ्घ, प्रदेश र स्थानीय तहका विभिन्न प्रशासनिक निकायमा कार्यरत ३२ जना सहसचिवको जिम्मेवारी परिवर्तन भएको छ।