अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आयोगले अद्यावधिक गर्‍यो गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति

निर्वाचन आयोगले अद्यावधिक गर्‍यो गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति


काठमाडौं-निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरेको छ।

२०८३ असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित २३१ सदस्यीय केन्द्रीय कार्यसमितिको विवरण आयोगले बुधबार अद्यावधिक गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरिएको जानकारी दिए। अद्यावधिकपछि आयोगले सम्बन्धित पक्षलाई पत्रसमेत पठाएको उनले बताए।

कांग्रेसले २०८३ कात्तिक १६ गते आयोगमा नयाँ कार्यसमितिको विवरण बुझाएको थियो। त्यससँगै निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली, संशोधित विधान, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज र निर्णयहरू पनि पेस गरेको थियो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ मा दलका पदाधिकारीमा हेरफेर भएमा निर्वाचन आयोगले दल दर्ता किताबमा सोहीअनुसार विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था छ। निर्वाचित केन्द्रीय तथा प्रदेश समितिको विवरण निर्वाचन भएको एक महिनाभित्र आयोगलाई उपलब्ध गराउनुपर्ने प्रावधानसमेत छ।

आयोगले गगन थापा नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक गरेसँगै कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद भने पूर्ण रूपमा टुङ्गिएको छैन। यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका थापा पक्षले २०८३ असोजमा १५औँ महाधिवेशन सम्पन्न गरेको थियो। त्यसबाट २३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो। अर्कोतर्फ निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको छ। देउवा पक्षले महाधिवेशनको कार्यतालिकासहितको पत्र निर्वाचन आयोगमा बुझाइसकेको छ। आयोगले उक्त कार्यतालिकालाई अभिलेखमा राखेको छ।

यसअघि विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्च अदालतले गत वैशाख ४ गते आयोगको निर्णय सदर गर्दै उनीहरूको रिट खारेज गरेको थियो। त्यसपछि देउवाले साउन ६ गते र खड्काले साउन १२ गते फैसलाको पुनरावलोकन माग गर्दै निवेदन दिएका थिए। सर्वोच्चले साउन २१ गते पुनरावलोकनको निस्सा दिएपछि कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद पुनः अदालतमा विचाराधीन छ।

आयोगले पछिल्लो पटक १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गरे पनि सर्वोच्च अदालतको अन्तिम फैसलाले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादलाई अन्तिम रूप दिनेछ।