अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भागरथीको मोबाइल ‘रिकभर’ गर्दै प्रहरी, भारतीय सीमकार्डले समस्या !

भागरथीको मोबाइल ‘रिकभर’ गर्दै प्रहरी, भारतीय सीमकार्डले समस्या !

appharu
0
Shares

धनगढी । बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टको मोबाइल ‘रिकभर’ गरिने भएको छ ।

घटनास्थलमा भेटिएको उनको मोबाइलबाट डिलिट भएका सबै म्यासेज, अडियो–भिडियो र कलको सबै विवरण निकाल्न प्रहरीले मोबाइल ‘रिकभर’ गरिरहेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले मोबाइलसहित घटना स्थलमा भेटिएका सबुत प्रमाणको आवश्यकताका आधारमा परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइरहेको बताए ।

उनले भागरथीले प्रयोग गर्ने मोबाइल पनि परीक्षणका लागि केन्द्रीय डिजिटल ल्याबमा पठाइरहेको बताए । त्यसबाट मोबाइलमा भएका सबै म्यासेज, अडियो–भिडियो र कलका सबै विवरण प्राप्त निकाल्न सकिने भएकाले अनुसन्धानमा सहज हुने जनाए ।

भागरथीले भारतीय सीमकार्ड पनि प्रयोग गर्ने खुलेको छ । घटनास्थलमा भेटिएको मोबाइलमा भारतीय सीमकार्ड मात्र फेला परेको र उनले प्रयोग गर्ने नेपाली सीमकार्ड सो दिन घरमै रहेको पाइएकाले प्रहरी अनुसन्धानमा केही समस्या भएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार भारतीय सीमकार्ड र मोबाइलका म्यासेज, भिडियो–अडियो र कलको विवरण समेत डिलिट गरेको पाइएपछि मोबाइलबाट बलियो ‘क्लु’फेला पर्न सकेको छैन ।

तर डाटा ‘रिकभर’ भएपछि धेरै कुरा खुल्ने विश्वास प्रहरीले गरेको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भारतीय प्रहरीसँग पनि समन्वय गरेर अनुसन्धान भइरहेको बताए ।

भारतीय प्रहरीको सहयोगमा पनि कल डिटेल निकाल्न आवश्यक पहल थालिएको बताउँदै घटनाको सुक्ष्म अनुसन्धान जारी राखिएको जानकारी दिए ।

सीमा नाका नजिक भएकाले चडेपानी क्षेत्रमा भारतीय नेटवर्कले काम गर्ने गरेको छ । सोही कारण त्यहाँका अधिकांश स्थानीयले भारतीय सिमकार्ड प्रयोग गर्ने गरेका छन् ।

१७ वर्षीया भागरथी बुधबार (माघ २१ गते) बिहान विद्यालय गएकी थिइन् । गाउँपालिकाको भवन नजिकै रहेको सनातन धर्म माविमा मक्षा १२ मा अध्ययनरत भागरथी साँझसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यले सोधी-खोजी गर्ने क्रममा बिहीबार राति जंगलमा शव फेला परेको थियो ।

घरभन्दा ३ किलोमिटरको दुरीमा रहेको लवलेक सामुदायिक वनमा विभत्स रुपमा हत्या गरिएको अवस्थामा भागरथीको शव फेला परेको थियो । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा भागरथीको बलात्कार पछि हत्या भएको देखिएको छ । भागरथीको शव इलाका प्रहरी कार्यालय खोचलेक र विद्यालयदेखि झण्डै दुई किलोमिटरको दुरीमा घाँटी निमुठिएको, हातमा घारिलो हतियार प्रयोग भएको र बलात्कार गरी आधा शरीर निवस्त्र पारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा ब्याट्री झिकेर फालिएको अवस्थामा मोबाइल फेला परेको छ । अहिले प्रहरीले मोबाइलका सूचना केलाएर त्यसआधारमा समेत अनुसन्धान अगाडि बढाएको छ ।

भट्टको बलात्कार पछि हत्या प्रकरणबारे जारी अनुसन्धानबारे बुझ्न सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख आफैं घटनास्थलतर्फ गएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदी आइतबार बिहान बैतडीतर्फ लागेका हुन् । बलात्कार पछि हत्या गरिएको अवस्थामा किशोरीको शव फेला परेपछि डीआईजी सुवेदीले घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय कैलालीबाट एसएसपी जनकराज पाण्डेलाई खटाएका थिए ।

घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली समेत बैतडी पठायएको छ । सीआईबीका डिएसपी पञ्चकुमार बाखु नेतृत्वको टोली बैतडी पुगेको हो । बाखु नेतृत्वको सीआईबीको टोलीले यसअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा समेत अनुसन्धानमा खटिएको थियो ।