अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आफन्तले बुझ्न मानेनन् भागरथीको शव

आफन्तले बुझ्न मानेनन् भागरथीको शव

appharu
0
Shares

काठमाडौं । बलात्कार पछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका-७ चडेपानी (कतोला) घर भएकी १७ वर्षीया भागरथी भट्टका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।

गत बुधबार (माघ २१ गते) बिहान घरबाट विद्यालयका लागि निस्किएकी भागरथी बिहीबार राति मृत फेला परेकी थिइन् । गाउँपालिकाको भवन नजिकै रहेको सनातन धर्म माविमा मक्षा १२ मा अध्ययनरत भागरथी साँझसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यले सोधी-खोजी गर्ने क्रममा बिहीबार राति जंगलमा शव फेला परेको थियो ।

घरभन्दा ३ किलोमिटरको दुरीमा रहेको लवलेक सामुदायिक वनमा विभत्स रुपमा हत्या गरिएको अवस्थामा भागरथीको शव फेला परेको थियो । घटनास्थलको मुचुल्का बनाएर शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी ल्याइएकोमा शव परीक्षण कार्य (पोस्टमार्टम) सकिएको जनाइएको छ ।

पोस्टमार्टम सकिएपछि स्थानीय प्रशासनले आइतबार आफन्तलाई भागरथीको शव बुझाउन खोजेको थियो । तर, आफन्तले भने हत्यारा पक्राउ नपरेसम्म शव बुझ्न अस्वीकार गरेका छन् ।

भागरथीको शव फेला परेकै ४ दिन भइसक्दा पनि उनको बलात्कार पछि हत्यामा संलग्न व्यक्ति भने पक्राउ परेका छैनन् । प्रहरीले भागरथीको शव फेला परेको ठाउँमा फुटेको अवस्थामा उनको मोबाइल समेत बरामद भएको जनाएको थियो ।

मोबाइल रिकभर गरी ‘डाटा’ केलाउने क्रममा घटनासँग सम्बन्धित केही ‘क्लु’ फेला परेका प्रहरीको दाबी छ ।

भागरथीको बलात्कार पछि हत्या प्रकरणमा जारी अनुसन्धानको सुपरीवेक्षण गर्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आइतबार आफैं घटनास्थल पुगेका छन् ।

भागरथीको बलात्कार पछि हत्या प्रकरणमा स्थानीय (बैतडी) प्रहरीसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली समेत परिचालन भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको निर्देशनमा संघीय प्रहरी इकाइ कार्यालय कैलालीबाट एसएसपी जनकराज पाण्डे नेतृत्वको टोली तालिमप्राप्त कुकुरसहित शुक्रबार नै घटनास्थलतर्फ गएको थियो ।

घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली समेत बैतडी पठाइएको छ । सीआईबीका डिएसपी पञ्चकुमार बाखु नेतृत्वको टोली बैतडी पुगेको हो । बाखु नेतृत्वको सीआईबीको टोलीले यसअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा समेत अनुसन्धानमा खटिएको थियो ।

घरभन्दा ३ किलोमिटरको दुरीमा रहेको लवलेक सामुदायिक वनमा विभत्स रुपमा हत्या गरिएको अवस्थामा भागरथीको शव फेला परेको थियो ।

भागरथीको शव इलाका प्रहरी कार्यालय खोचलेक र विद्यालयदेखि झण्डै दुई किलोमिटरको दुरीमा घाँटी निमुठिएको, हातमा घारिलो हतियार प्रयोग भएको र बलात्कार गरी आधा शरीर निवस्त्र पारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

२ वर्ष अगाडि कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रहरी अनुसन्धान ‘फितलो’ बन्दा घटनामा संलग्न अभियुक्त अझै पक्राउ पर्न सकेका छैनन् । भागरथीको हविगत पनि निर्मलाको जस्तै हुने भन्दै बैतडीका स्थानीय, आफन्त र पीडित परिवारले चिन्ता व्यक्त गरेका छन् ।