अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघ्यो

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघ्यो

appharu
0
Shares

काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् ।

गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना अधिकारी डा. लोकनाथ भुषालले बताए ।

उनका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । उनले भने, ‘सेवाग्राहीले अनुकूल समयमा फारम भर्न सक्नुहुन्छ ।’

गत पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो । निश्चित समय मात्रै हुँदै धेरै सेवाग्राहीले एकै पटक भिड भएकाले सेवाग्राहीले फारम भर्न सकेका थिएनन् ।

अहिले फारम भर्न नसकिने समस्या हटेर गएको प्रवक्ता डा. भुषालले जानकारी दिए । ‘अहिले पनि बिहान र साँझभन्दा दिउँसोको समयमा फारम भर्ने सेवाग्राही धेरै छन्’, उनले भने, ‘फारम नै भर्न सकिएन भन्ने गुनासो बिस्तारै कम भएको छ ।’

विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिन थालेको थियो ।

नेपालमा दोस्रो सङ्क्रमित भेटिएसँगै सरकारले लागु गरेको बन्दाबन्दीका कारण देशभरका सबै सरकारी कार्यालयसँगै यातायात व्यवस्था कार्यालयहरु पनि बन्द भएका थिए । कोभिड–१९ बाट सुरक्षित हुँदै असारदेखि कार्यालय खुलेपनि नयाँ चालक अनुमतिपत्र सेवा अवरुद्ध थियो ।

कार्यालयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखेपनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो । प्रदेश सरकारअन्तर्गत रहेका कार्यालय र सङ्घीय सरकारअन्तर्गतको विभागबीचको समन्वयमा नै गत पुसदेखि नयाँ अनुमतिपत्र खुलाइएको थियो ।

संविधानअनुसार यातायातसम्बन्धी जिम्मेवारी सङ्घ र प्रदेशमा बाँडिएपछि कार्यालयहरु नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । अहिले विभागले चालक अनुमतिपत्रको सर्भरको काम र छपाइको काम गरिरहेको छ ।

कार्यालयहरुले अनुमतिपत्रको परीक्षा सञ्चालन, वितरण र नवीकरण गर्दै आएका छन् । काठमाडौँ उपत्यकामा वाग्मती प्रदेश सरकारले एकान्तकुनासँगै चावहिल, सानो भर्याङ र जगातीमा रहेका कार्यालय रहेका छन् ।