अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घरबाटै वृद्ध दम्पती बेपत्ता : छानबिन माग गर्दै जनकपुर-जलेश्वर सडक अवरुद्ध

घरबाटै वृद्ध दम्पती बेपत्ता : छानबिन माग गर्दै जनकपुर-जलेश्वर सडक अवरुद्ध


धनुषा- जनकपुर-जलेश्वर राजमार्गको पिपरामा स्थानीयवासीले सडकमा प्रदर्शन गर्दै यातायात अवरुद्ध गरेका छन् । महोत्तरीको पिपरा-५ सहोडवामा एक दम्पतीलाई बेपत्ता पारिएको भन्दै स्थानीयले आज यातायात अवरुद्ध गरेका हुन् ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने मागसहित उनीहरूले जलेश्वर–जनकपुर राजमार्ग यातायात सञ्चालन ठप्प पारेका छन् । पिपरा गाउँपालिका–५ सहोडवास्थित आफ्नै घरमा सोमबार राति सुतेका ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार दुवै छुट्टाछुट्टै कोठामा सुतेका थिए । आज बिहानदेखि दुवै घरमा भेटिएका छैनन् । यी वृद्ध दम्पतीसँगै घरमा उनीहरूको कान्छी बुहारी पनि रहेको प्रहरीले जनाएको छ । वृद्ध दम्पतीको घरमा रगतको छिटा पनि देखा परेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।

राति अज्ञात समूहले आएर आक्रमण गरी उनीहरूलाई बेपत्ता बनाएको हुन सक्ने झाका नाति सुजितकुमार झाले बताउनुभएको छ । सुजितले घटनामा उच्चस्तरीय छानबिन आवश्यक देखिएकाले दबाबका लागि सडक अवरुद्ध गरेको बताउनुभयो । दुवै सुतेको ठाउँमा रगत भेटिएकाले घटना शङ्कास्पद रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो । प्रहरी उपरीक्षक केसीले भन्नुभयो, ‘दुवैको खोजी भइरहेको छ ।’ बिहान झा दम्पती घरमा नभेटिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

झा दम्पती बेपत्ताबारे अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ । “घरबाटै बेपत्ता भएका दम्पतीको खोजी तीव्ररुपमा भइरहेको र घरमा रहेकी उनको बुहारी र स्थानीयसँग यस विषयमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीका अनुसार झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन् । झा मोहीसम्बन्धी एउटा जग्गा विवादमा साक्षी बसिरहेका व्यक्ति रहेको स्थानीयको भनाइ रहेको छ । उक्त मुद्दा अदालतमा विचाराधीन छ ।