अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘संसदभित्रको लडाईमा जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौं’

‘संसदभित्रको लडाईमा जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौं’


दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आन्दोलनभित्र एकता नभई फुट रोज्ने प्रवृत्तीका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा)समस्यामा परेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘आज कम्युनिष्ट आन्दोलनमा समस्या उत्पन्न भएको छ । आन्दोलनभित्र एकता नभई फुट रोज्ने प्रवत्तिका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समस्यामा परेको छ । अब फुट नभई एकता रोज्दै अगाडि बढ्नुपर्दछ ।’

फरक–फरक विचारका दुई कम्युनिष्ट पार्टीका बीचमा एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेकै दिनदेखि पार्टीभित्रका केही नेताहरुले फुटको सपना देखेको कारण आज बलियो पार्टी कमजोर बन्ने दिशामा अगाडि बढेको भन्दै मुख्यमन्त्री पोखरेलले आन्दोलनभित्र सधैँ बलियो सम्भावना नदेख्दा समस्या उत्पन्न भएको बताउनुभयो ।

‘आन्दोलनमा सधैँ बलियो सम्भावना देख्नुपर्दछ । आन्दोलनको हीतमा नसोच्दा आज जुन समस्या उत्पन्न भएका छन्, यसबाट पाट सिक्दै अगाडि बढ्नुपर्दछ’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘कम्युनिष्ट आन्दोलनको सफलता नचाहने शक्तिहरू पार्टीभित्र घुसेर समस्या उत्पन्न भएका हुन् । अब सचेत हुनुपर्दछ । खराब तत्वलाई समयमै चिन्न सक्नुपर्दछ ।’

पार्टीको विवाद संसदभित्र प्रवेश गरेको भन्दै मुख्यमन्त्री पोखरेलले उक्त लडाईमा कार्यकर्ताको शिर निहुरिन नदिने बताउनुभयो । ‘विवाद संसदमा प्रवेश गरिसकेको छ । संसदभित्रको लडाईमा जस्तोसुकै परिस्थितिको सामना गर्न हामी तयार छौं । कार्यकर्ताको शिर निहुरिन दिदैनौं’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘अहिलेसम्म संसदभित्रको खेलमा नफसौं भनेका थियौं, खेल सुरु भएपछि पछि हटिदैन । खेल खेल्न हामीले पनि जानेका छौं कमरेड ।’