अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिवरात्रिमा पशुपति दर्शन गर्न तीन स्थानबाट लाइन बस्न सकिने

शिवरात्रिमा पशुपति दर्शन गर्न तीन स्थानबाट लाइन बस्न सकिने


काठमाडौं- यस वर्षको महाशिवरात्रिमा पशुपतिमा तीन वटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क-गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली-गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल-तिलगङ्गा, पिङ्गलास्थान-सुमार्गीभवन अगाडिबाट चार शिवालय-पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना बनाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । आवश्यकताअनुसार तिलगङ्गा राममन्दिरतर्फ एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन÷तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ ।

कोरोना महामारीका कारण यस वर्ष सातदेखि आठ लाख भक्तजनले मात्र पशुपतिनाथमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थलमार्गबाट आउने सीमानाकामा कडाइ जारी रहेकाले हवाइमार्गबाट आउने भक्तजन र साधुसन्त मात्र आउनेछन् । साधुसन्तको सङ्ख्या पनि विगत वर्षको भन्दा कम हुने जनाइएको छ । करिब तीन हजार साधुसन्त पशुपति क्षेत्रमा आइसकेको कोषले जनाएको छ ।

१० हजार सुरक्षाकर्मी परिचालन गरिने

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा तीन दिनअघि अर्थात् आजैदेखि करीब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । विगत वर्षमा जस्तै यसपटक पनि दर्शनका लागि विशेष पासको व्यवस्था गरिएको छैन । दर्शन गर्न चाहनेले लाममै बसेर मन्दिर प्रवेश गनुृपर्नेछ । वृद्धवृद्धाका लागि भने स्वयंसेवकबाट छिटो दर्शन गराउने व्यवस्था मिलाइनेछ ।

पशुपतिनाथ मूल मन्दिरका चारै ढोका महाशिवरात्रिका दिन बिहान चार बजेदेखि नै खोलिने छ । बिहान चार बजेदेखि राति दर्शनार्थी नसकिएसम्म पशुपतिनाथका चारै ढोका खुला गरिने कोषले जनाएको छ । कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउन भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ । मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न चाहने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्ने सदस्य सचिव ढकालले बताउनुभयो ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रभित्र पर्ने चावहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको चक्रपथमा सार्वजनिक यातायात रोकिने छैन । मालबाहक सवारी भने रोक्ने गरी सुरक्षा एवं यातायात योजना बनाइएको कोषले जनाएको छ ।

महाशिवरात्रिका अवसरमा ६० वटा संस्थालाई स्वयंसेवा गर्न, २५ वटा संस्थालाई स्वास्थ्य शिविर राख्न र २० संस्थालाई निःशुल्क भोजनको व्यवस्था गर्न अनुमति दिइएको छ । विगत वर्षमा स्वयंसेवक परिचालन गर्ने अनुमति लिएर आफैँ दर्शन गर्न जाने एवं तोकिएको काम नगर्ने संस्थालाई यस वर्ष जिम्मेवारी दिइएको छैन । रासस