काठमाडौं-बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले आगामी साताको अन्त्यमा देशका विभिन्न भू–भागमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् राजन महर्जनका अनुसार साताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने साताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभाव देखिनेछ ।
साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मध्यमसम्मको हिमपात हुने सम्भावना छ । ती प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी हिमपात हुनसक्ने मौसमविद् महर्जनले बताए । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको तथा एक–दुई स्थानमा भारी हिमपात हुनसक्ने उनले जानकारी दिए ।
साताको सुरु र मध्यमा भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ । यस अवधिमा सबै प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साताको अन्त्यमा पहाडी भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ । तराईका भू–भागमा साताको सुरु र मध्यमा वर्षाको सम्भावना नरहे पनि अन्त्यतिर कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुनसक्ने मौसमविद् महर्जनले बताए ।
उनका अनुसार साताको अन्त्यमा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पर्ने भू–भागका थोरै स्थानमा तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ ।
आगामी सातामा देशका विभिन्न भू–भागको अधिकतम तथा न्यूनतम तापक्रमसमेत हल्का घट्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए ।



प्रतिक्रिया